निर्माण व्यवसायी महासंघका अध्यक्षमाथि गोली प्रहार गरी हत्या

हत्यामा संलग्नलाई छिट्टै पक्राउ : गृहमन्त्री शर्मा

  • २३ आश्विन २०७४, सोमबार
  • 2233 पटक पढिएको

काठमाडौं । नयाँबानेश्वरको शान्तिनगर क्षेत्र नजिक रहेको खरिबोटमा सोमबार दिनदहाडै गोली चलेको छ । अज्ञात समूहले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचनमाथि लक्षित गर्दै गोली प्रहार गरेको हो । गौचन डाँफे कन्सट्रक्सनका प्रबन्ध निर्देशक समेत रहेका गौचनलाई घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको थियो । घटना लगत्तै घाइते गौचनलाई सिभिल अस्पताल लगिएको थियो । तर, बानेश्वर प्रहरीका डिएस्पी रवि कुमार पौडेलका अनुसार अस्पताल ल्याउने क्रममा उनको मृत्यु भइसकेको थियो ।

अस्पतालमा कार्यरत चिकित्सक तथा पूर्व निर्देशक डा विमल थापाले घाइते गौचनको अस्पताल ल्याइपु¥याउनु अघि नै मृत्यु भइसकेको जानकारी दिए । “एउटा गोली मुटु, अर्को कलेजो र तेस्रो गोली मुटु र कलेजोको बीचमा लागेको छ, अस्पताल ल्याउँदा उहाँको श्वासप्रश्वास चलेको थिएन” – डा थापाले भने ।
डा थापाका अनुसार गौचनको शरीरबाट दुईवटा गोली झिकिएको छ । एउटा गोली भेटिएको छैन । प्रत्यक्षदर्शीका अनुसार बानेश्वरको प्रयाग मार्गमा बा १३ च  ४९४८ नम्बरको ल्यान्डक्रुजर प्राडो गाडीमा सवार भएर गौचन आउँदै थिए । मास्क लगाएर बसेका अग्लो कद भएका एक आक्रमणकारीले उनी सवार गाडीमा ईट्टा प्रहार गरेका थिए । लगत्तै अर्का आक्रमणकारीले गौचनमाथि तीनवटा गोली प्रहार गरेका थिए ।

गोली प्रहारपछि ड्राइभरले आक्रमणकारीलाई पछ्याउने प्रयास गरे पनि गौचनको शरीरबाट रगत बगेको देखेपछि उनलाई सोही गाडीमा राखेर अस्पताल तर्फ लगेका थिए । स्थानीयका अनुसार गौचन अचेत अवस्थामा थिए । गोली प्रहार गरेपछि आक्रमणकारीहरु मोटरसाइकल चढेर भागेका थिए । के कारणले उनीमाथि गोली प्रहार गरिएको भन्ने खुलेको छैन ।०३९ देखि निरन्तर निर्माण व्यवसायमा संलग्न गौचनले ०४० मा डाँफे कन्स्ट्रक्सन कम्पनीको नाममा निर्माण व्यवसाय शुरु गरेका थिए ।

गौचन तीन कार्यकाल संघको सचिव र एक कार्यकाल महासचिव हुँदै हाल महासंघको अध्यक्ष थिए ।गौचनका दुई छोरी,एक छोरा,श्रीमती र आमा छन् ।ठेक्कापट्टा र गुण्डाहरुको सम्बन्ध रहँदै आएको विभिन्न समयमा घटेका घटनाहरुले पुष्टि गरेको छ । पछिल्लो समय राजधानीमा गुण्डागर्दी मौलाउनुको प्रमुख कारण ठेक्कापट्टा भएको प्रहरी अधिकारीहरु नै बताउँछन् । गौचन महासंघको महासचिव हुँदा रमेश बाहुन तथा कुमार घैंटेसँग पनि सम्बन्ध रहेको भन्ने खबरहरु बाहिर आएका थिए

यसैबिच गृहमन्त्री जनार्दन शर्मा प्रभाकरणले निर्माण व्यवसायी शरद कुमार गौचनको हत्यामा संलग्नलाई  छिट्टै पक्राउ गरिने बताएका छन् ।  उनले अभियुक्तकाे नजिकसम्म प्रहरी पुगेको भन्दै चाँडै पक्राउ गरिने बताए । ‘यो घटना गम्भीर छ । प्रतिष्ठित निर्माण व्यवसायीमाथि गोली प्रहार भएको छ । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं, रातोपाटीसँग कुराकानी गर्दै शर्माले भने  । 


गृहमन्त्रीले सम्बन्धित नाकाहरु सिल गरेर  अभियुक्तलाई उम्किन नदिन मन्त्रालयले आवश्यक निर्देशन दिइसकेको भन्दै अभियुक्त चाँडै पक्राउ पर्ने बताए ।  ‘नाकाहरु सिल गरे अभियुक्तलाई पक्राउ गर्न मन्त्रालयले निर्देशन दिइसकेको छ’, शर्माले भने, ‘ अहिलेसम्म कसले  हत्या गरेको भन्ने केहि हदसम्म पत्ता लागिसकेको छ।’गृहमन्त्रीले  योजनाबद्ध तरिकाले निर्माण व्यवसायीमाथि गोली हानेको देखिएको भन्दै थप कुरा अध्ययन पछि बाहिर ल्याउने बताए ।  नयाँबानेश्वरको शान्तिनगर क्षेत्र नजिक रहेको खरिबोटमा  अज्ञात समूहले गोली हानेर  गौचनको हत्या गरेको हो Source:www.ratopati.com