कुइनेखानीलाई अर्गानिक गाउँ घोषणा
- ६ असार २०८३, शनिबार
- 3 पटक पढिएको
म्याग्दी, ६ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले प्राङ्गारिक उत्पादनलाई प्रवद्र्धन गर्नका लागि कुइनेखानी गाउँलाई अर्गानिक गाउँ घोषणा गरेको छ । रघुगंगा गाउँपालिका–८ मा पर्ने छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको कुइनेखानीमा अहिले हुँदै आएको प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न गाउँपालिकाले अर्गानिक गाउँ बनाउने घोषणा गरेको हो ।
गाउँपालिकाको २१ औँ गाउँसभाबाट कुइनेखानीलाई अर्गानिक गाउँ घोषणा गरिएको छ । पालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा आबश्यक प्रवन्ध मिलाएर कुइनेखानीमा परिक्षण योजनाको रुपमा अर्गानिक गाउँ बनाउने तयारी गरेको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार,पहिलो बर्ष यस कार्यक्रमका लागि रु १ लाख बजेट विनियोजन गरिएको छ । यस बजेटबाट कृषकहरुले उत्पादन गरेको प्राङ्गारिक मलमा सतप्रतिशत अनुदान दिइने छ । कुइनेखानीमा आलु, जौ, मकै, कोदो खेती हुने गरेको छ । यस अभियानमार्फत स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजको गुणस्तर वृद्धि, स्वस्थ खाद्य पदार्थको उत्पादन तथा कृषकको आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी कृषि उत्पादनमा रासायनिक पदार्थको नियन्त्रण गर्न पाइलट प्रोजेक्टका रुपमा अर्गानिक गाउँ बनाउने अभियानको थालीन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले रैथाने बालीको उत्पादन, प्रवद्र्धन र बजारीकरणको लागि समेत जोड दिएको छ । स्थानीय स्तरमा हुने कृषि बालीको पहिचान गर्दै उत्पादन बढाएर आयआर्जन बढाउन विशिष्टिकृत रुपमा एक वडा एक उत्पादन कार्यक्रम समेत सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।
आगामी बर्षका लागि पारित भएको बजेट बक्तव्यमा एक वडा एक उत्पादन कार्यक्रमका लागि रु १६ लाख बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो । गाउँसभाले कृषि उत्पादन बढाउनका लागि माटो स्वास्थ्य सुधार, कृषि तालिम, कृषिमा अनुदानलगायतका कार्यक्रमलाई समेत पारित गरेको छ । आगामी बर्षका लागि गाउँसभाबाट कृषि क्षेत्रमा रु ५५ लाख ७५ हजार बजेट विनियोजन भएको छ ।