स्थानीय तहमा बजेट पारित गर्ने रघुगंगा बन्यो नेपालकै पहिलो
- ४ असार २०८३, बिहीबार
- कमल खत्री
- 5 पटक पढिएको
म्याग्दी, ४ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३÷०८४ का लागि रु ५६ करोड बढीको बजेट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २१ औँ गाउँसभाबाट आगामी बर्षको लागि संघीय र प्रदेश सरकारले पठाउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी रहने रकम समेतलाई स्रोत अनुमान गरी रु ५६ करोड ४ लाख २० हजार ७ सय बराबरको बजेट पारित गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले सभामा प्रस्तुत गर्नुभएको बजेट छलफल पछि सर्वसम्मत रुपमा पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, आगामी आर्थिक बर्षको बजेट पारित गर्ने रघुगंगा गाउँपालिका नेपालमै पहिलो स्थानीय तह बनेको छ ।
रघुगंगाले चालुतर्फ रु ३८ करोड २ लाख २० हजार ७ सय र पुँजीगत तर्फ १८ करोड २ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले पारित गरेको बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु ९ करोड ३१ लाख, सशर्त अनुदानतर्फ रु २२ करोड ७४ लाख,विशेष अनुदानतर्फ रु १ करोड ५० लाख, समपुरक अनुदानतर्फ रु ७० लाख गरी रु ३४ करोड ३५ लाख बजेट प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरी गण्डकी प्रदेश सरकारबाट समानीकरण अनुदान रु १ करोड १ लाख ७ हजार, समपुरक अनुदानतर्फ रु ६० लाख, विशेष अनुदानतर्फ रु ३९ लाख ९८ हजार समावेश गरिएको छ । बजेटमा संघीय सरकारको राजश्व बाँडफाँडतर्फ रु १० करोड ६२ लाख ७७ हजार, प्रदेश राजश्व वाँडफाँडबाट रु १ करोड ५ लाख ३३ हजार, आन्तरिक आम्दानीतर्फको राजश्व रु १ करोड ५ लाख तथा चालु आर्थिक बर्षमा खर्च नभई बाँकी रहने रु ७ करोड ७६ लाख रकमलार्य समावेश गरिएको छ ।
गाउँसभाबाट पूर्वाधार विकासतर्फ रु १३ करोड ४५ लाख ७२ हजार, सुशासन तथा संस्थागत विकासतर्फ रु १४ करोड २१ लाख ५१ हजार, सामाजिक विकासतर्फ रु २६ करोड ६९ लाख ७० हजार, आर्थिक विकासमा रु १ करोड ५६ लाख २७ हजार ७ सय तथा वन, वातावराण तथा विपद् व्यवस्थापन तर्फ रु ११ लाख बजेट विनियोजन गरेको छ ।
गाउँसभामा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम समेत पारित भएको छ । पालिकाले कृषि, पशुपालन, पर्यटन क्षेत्रको विकास, शिक्षा र स्वास्थ्यको सुधार तथा पूर्वाधार निर्माणलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिएको छ । पालिका अध्यक्ष भण्डारीले पालिकाको समग्र विकासलाई ध्यानमा राखेर नीति तथा कार्यक्रम र बजेट तयार गरिएको बताउँदै प्रभाबकारी कार्यान्वनयमा जुट्नुपर्ने बताउनुभयो ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l