म्याग्दीको चिनारी गराउने ‘सुन्दर म्याग्दी’ पुस्तक बिमोचन

  • ३ असार २०८३, बुधबार
  • 3 पटक पढिएको

म्याग्दीका फोटो पत्रकार अमर बानियाँद्धारा लिखित ‘सुन्दर म्याग्दी’ पुस्तक विमोचन गरिएको छ । धौलागिरी पर्यटन परिषद्का अध्यक्ष समेत रहनुभएका बानियाँले म्याग्दीको प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक स्थल, कला, संस्कृति र जीवनशैलिलाई समेटेर तयार गरेको उक्त पुस्तकको एक कार्यक्रमका बिच काठमाण्डौमा बिमोचन गरिएको हो । 
धौलागिरी पर्यटन विकास परिषद र बेनी समाज काठमाडौंले बुधबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले बिमोचन गर्नुभएको हो । पुस्तक बिमोचन गर्दै बरिष्ठ उपाध्यक्ष बैद्यले म्याग्दीको पर्यटन विकासका लागि पुस्तकले सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व मुख्य सचिव तथा अमेरिकाका लागि नेपालका पूर्व राजदूत लोकदर्शन रेग्मी, प्रा.डा. प्रेम शर्मा, नेपाल पर्यटन बोर्डका जनसम्पर्क अधिकृत सुनिल शर्मा, संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य रेशमबहादुर बानियाँ, म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष एवम् महासंघका केन्द्रीय सदस्य सुबिन श्रेष्ठ लगायतको सहभागितामा पुस्तकको बिमोचन गरिएको थियो ।
म्याग्दी जिल्लालाई चिनाउने बिषयबस्तु समेटीएको पुस्तकमा नेपाली र अङ्ग्रेजी भाषामा लेखन गरिएको छ। म्याग्दीको विषयमा जान्न चाहने अध्येता, पर्यटक र म्याग्देलीलाई यो पुस्तक उपयोगी छ । लामो समयसम्म फोटोग्राफी र फोटो पत्रकारिताको क्षेत्रमा सक्रिय रहँदा आफुले संकलन गरेका फोटोहरुलाई उपयोग गरी जिल्लाको चिनारी गराउने उदेश्यले पुस्तक प्रकाशन गरेको लेखक बानियाँले बताउनुभयो ।