रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बजार अनुगमन

  • २ असार २०८३, मंगलवार
  • 3 पटक पढिएको

म्याग्दी, २ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बजार अनुगमन गरिएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षा, गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता र व्यापार व्यवसायलाई व्यवस्थित गराउन गाउँपालिकाले बजार अनुगमन गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य संघ, युवा क्लबका  प्रतिनिधि, प्रहरी, गाउँपालिकाका कृषि र पशु विकास शाखाका कर्मचारी लगायतको रोहवरमा बजार अनुगमन गरिएको हो ।

मौवाफाँट स्थित खाजा घर, होटल, पसल लगायत १६ वटा व्यावसायिक फर्महरुको अनुगमन गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत पदम भण्डारीले जानकारी दिनुभयो । अनुगमनको क्रममा रु १७ हजार ५४४ बराबरको म्याद नाघेका सामाग्री जफत गरी नष्ट गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले पालिकाभित्रका व्यापार व्यवसाय सञ्चालन भएका बस्ती र बजारक्षेत्रमा पुगेर बजार अनुगमनलाई तिब्र पारेको छ ।
अहिलेसम्म वडा नम्बर १ तिप्ल्याङ, बेगखोला, वडा नम्बर २ को बैँसरी, भगवती, वडा नम्बर ३ को राहुपारे, तिलकेनी, मौवाफाँट, वडा नम्बर ५ को झिँ, वडा नम्बर ६ को पाखापानी लगायतका क्षेत्रमा रहेका पसल, होटललगायतको अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, अनुगमनको क्रममा दर्ता नगरी पसल सञ्चालन भएको, वडामा दर्ता भएका पसलहरु प्यानमा दर्ता नभएको, मूल्य सूचि टाँस नभएको पाईएपछि पहिलो पटकलाई सचेत गराईएको छ ।
अनुगमनको क्रममा म्याद गुज्रिएका सामग्रीहरू जफत गरी नष्ट गरिएको र आवश्यक कागजात अद्यावधिक गर्न निश्चित समयसीमा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरणको अवस्था, मूल्यसूचीको प्रदर्शन, तौल तथा नाप उपकरणको प्रयोग, म्याद गुज्रिएका खाद्य सामग्रीको बिक्री–वितरण, सरसफाइको अवस्था, उपभोक्तालाई दिइने बिल तथा रसिद, खाद्य सामग्रीको भण्डारण व्यवस्था र कर सम्बन्धी कागजातहरूको परीक्षण समेत गरिएको छ ।