विपन्नको सारथि बन्दै मंगला गाउँपालिका
- १२ असार २०८३, शुक्रबार
- 21 पटक पढिएको
कमल खत्री
म्याग्दी, २९ जेठ । म्याग्दीको मंगला गाउँपालिका–१ हर्कपलेको बाटो हुँदै हिँड्ने जो–कोहीको नजर एउटा सानो झुपडीमा पुग्थ्यो। वर्षायाममा पानी चुहिने, हिउँदमा चिसोले कठ्याङ्ग्रिने र गर्मीयाममा घामले पोल्ने त्यो झुपडी केवल एउटा बासस्थान थिएन, गरिबी, अभाव र राज्यको पहुँचबाट टाढा रहेको एउटा परिवारको जीवनकथा थियो। त्यही झुपडीमा मिमबहादुर किसान आफ्नी श्रीमती र तीन साना सन्तानसँग संघर्षपूर्ण जीवन बिताइरहनुभएको थियो। विडम्बना, उहाँसँग आफ्नो अस्तित्व प्रमाणित गर्ने नागरिकता समेत थिएन। नागरिकता नहुँदा राज्यका सेवासुविधा उहाँका लागि केवल सुनिने कुरा मात्र थिए। झुपडीको साँघुरो घेराभित्र किसान परिवारको भविष्य पनि अभावकै कुहिरोमा हराइरहेको थियो ।
स्थानीयवासीहरूका लागि त्यो झुपडी अपरिचित थिएन। बाटो हिँड्ने धेरैका आँखाले त्यसलाई देख्थे, तर केही आँखाले मात्र त्यसभित्रको पीडा महसुस गर्थे। अन्ततः ती पीडाप्रति संवेदनशील बनेका जनप्रतिनिधि, समाजसेवी र युवाहरूको पहलले मिमबहादुरको परिवारमा आशाको किरण भ¥योे। वि.स. २०८० असार १९ गते उहाँले नागरिकता प्राप्त गर्नुभयो र त्यसपछि सुरु भयो एउटा झुपडीलाई सुरक्षित घरमा रूपान्तरण गर्ने अभियान।
मंगला गाउँपालिकाले “सुरक्षित नागरिक आवास कार्यक्रम संचालन कार्यविधि २०८१“ सञ्चालनमा ल्याएपछि कार्यपालिका बैठकबाट रु ४ लाख बजेट विनियोजन गरेर मिमबहादुरको घर निर्माण भएको छ । ‘‘ केहि बर्ष हामी छिमेकीको घरमा आश्रय लिएर बस्यौँ, पछि टिनको अस्थायी छाप्रो बनायौँ, पछि टिनबाट पानि चुहिन थाल्यो, बर्षौसम्म हामी पानि चुहिने र चिसो सिरेठोमा जुधेर छाप्रोमा बस्यौ, अहिले गाउँपालिकाले घर बनाइदिएपछि ठुलो राहतको महसुस गरेका छौँ’’– किसानले भन्नुभयो ।
किसानको परिवार ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् । बालबच्चाहरुले स्थानीय त्रिभुवन मंगला माविमा अध्ययन गर्छन् । आर्थिक रुपमा विपन्न र शैक्षिक रुपमा समेत पछि परेको किसान परिवार सामान्य अस्थायी छाप्रोमा बस्दै आएकाले उनीहरुको दैनिक जीवनयापनमा सहजता ल्याउन आवास पुननिर्माण गरी घर उपहार दिईएको मंगला गाउँपालिका–१ का वडा अध्यक्ष एकजित रोकाले बताउनुभयो । विपन्न किसान परिवारको घर निर्माणमा गाउँपालिकाको बजेटको साथै स्थानीय जनप्रतिनिधि, समाजसेवी र अगुवाहरुले समेत सहयोग गरेका थिए ।
‘‘हामीले चुहिने छानोमा कष्टकर तवरले बस्दै आएको परिवारलाई सुरक्षित घर बनाएर राख्न सफल भएका छाँै, ज्यालामजदुरी गरी जीविका चलाउने परिवारलाई सचेतना मार्फत सक्षम र आयआर्जनमा जोडेर व्यवस्थित बनाउन अझै बाँकी छ’’–वडा अध्यक्ष रोकाले भन्नुभयो । मंगला गाउँपालिकाले किसान जस्तै घरबार विहिन विपन्न नागरिकहरुको आवास पुननिर्माणमा सघाउँदै आएको छ । मंगला गाउँपालिका–२ घर भइ हाल वडा नम्बर २ को तुसारेपानीमा बसोबास गर्दै आउनुभएका रनजित पुनको घर भत्कने अवस्थामा पुगेपछि स्थानीय मनकामना आमा समूह र मनकामना युवा क्लबको श्रमदान र गाउँपालिकाको जस्तापाता सहयोगमा पुनको घर पुननिर्माण गरिएको छ । 
गाउँपालिकाले घरवार विहिन नागरिकलाई आवास पुननिर्माण तथा खरको छानो भएका घरमा टिनको छानो बनाउन आर्थिक सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । ‘‘हामीले गाउँपालिकाभित्र खरको छानो भएका घरमा जस्तापाताले छाउने कार्यमा पनि सहयोग गरेका छौँ, अहिले विपन्न नागरिकहरुको आर्थिक अवस्थालाई ध्यानमा राखेर आबश्यकताको आधारमा आवास पुननिर्माणमा समेत सहयोग गरेका छौँ’’– गाउँपालिका अध्यक्ष रोकाले भन्नुभयो ।
मंगला गाउँपालिकाले आफ्नो भूगोलमा हुने प्राकृतिक र दैवि प्रकोपबाट पीडित भएका नागरिकहरुलाई समेत राहत दिने गरेका छ। बाढी, पहिरो, आगलागी लगायतका घटनाबाट पीडित बनेका नागरिकलाई उद्धार तथा तत्कालिन राहतमा सघाउन गाउँपालिका अध्यक्षसंग राहत उद्धार तथा पुनस्थापना कार्यक्रम सञ्चालन गरिएको छ । आर्थिक बर्ष २०८२÷०८३ मा यस कार्यक्रमका लागि रु ७ लाख बजेट विनियोजन भएकोमा जेठ तेस्रो सातासम्म १६ जनालाई १ लाख ८७ हजार राहत रकम वितरण गरिएको गाउँपालिकाको लेखा शाखाले जनाएको छ ।
गाउँपालिकाले आगजनीबाट घरबार विहिन भएकाहरुलाई आबश्यकताका आधारमा दैनिक उपभोग्य खाद्यान्न, भाँडाकुडा, लत्ताकपडा , त्रिपाल लगायतका राहत सामाग्री समेत उपलब्ध गराउने गरेको छ । पालिकाले क्षति र परिवार सदस्य सख्ंयाको आधारमा रु ७ हजारदेखि २५ हजार सम्म राहत सहयोग गर्दै आएको छ । नागरिकलाई घरदैलोको सरकारको अनुभूति दिलाउन मंगला गाउँपालिकाले आर्थिक रुपमा विपन्न नागरिकहरुको स्वास्थ्य उपचारमा समेत सघाउँदै आएको छ । वडा कार्यालयको सिफारिसमा औषधी उपचारमा सम्बन्धित स्वास्थ्य संस्थालाई छुट सहुलियतमा उपचार गराउन पत्राचार गर्नुका साथै यातायात र औषधी खर्चका लागि १५ हजार सम्म सहायता सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष रोकाले जानकारी दिनुभयो ।
यस गाउँपालिकाले परम्परागत आरनलाई आधुनिकरण गर्न समेत अनुदान प्रदान गरेको छ । परम्परागत रैथाले सीप र प्रविधिलाई उपयोग गरी आयआर्जन बढाएर गरिबी निवारणका लागि प्रविधि हस्तान्तरण गर्ने गरिएको अध्यक्ष रोकाले बताउनुभयो । ‘‘ स्थानीय सरकार जनताको नजिकको सारथि हो, हामीले सञ्चालन गर्ने हरेक कार्यक्रम समाजका तल्लो तहका नागरिकको हितमा हुनुपर्छ भन्नेमा हामी सचेत छौँ, समुदायमा पछि परेका र पारिएका नागरिकहरुलाई सचेतना फैलाउन र राज्यबाट प्रवाह गर्ने सेवा सुविधामा प्राथमिकता दिनेतर्फ हामी लागिरहेका छौँ’’– गाउँपालिका अध्यक्ष रोकाले भन्नुभयो ।
कृषि र पशुपालनमा सम्भावना बोकेको यस गाउँपालिकामा कृषकहरुलाई उपलब्ध गराईने प्रविधि सहयोग अनुदानमा समेत विपन्न बर्गलाई प्राथमिकता दिने गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हरेक बर्ष कृषि औजारका उपकरणहरु अनुदानमा वितरण गर्दै आएको छ । आफै लगानी गर्न नसक्ने बर्गका नागरिकहरु अनुदानमा वितरण गरिने कृषि औजार उपकरणको प्रयोगबाट लाभान्वित बनेका छन् । गाउँपालिकाले नागरिकलाई लघु उद्यमशिलतामा अघि बढाउन लघुउद्यम कार्यक्रम समेत सञ्चालन गरेको छ । यस कार्यक्रमबाट नागरिकलाई उद्यमशिलता तालिम दिएर सिप विकास तालिम र प्रविधि सहयोग गरी उद्यमशिलतामा लगाउने गरिएको छ । पालिकाका उद्यम विकास सहजकर्ता सविना घर्तिले यस बर्ष मौरीपालन तालिम दिएर व्यवसायिक मौरीपालनका लागि उद्यमीहरुलाई अनुदानमा मौरीघार समेत वितरण गर्न लागिएको जानकारी दिनुभयो ।
लक्षित बर्गका कार्यक्रम प्रभाबकारी बन्न सकेनन्
मंगला गाउँपालिकाले पूर्वाधार निर्माण संगै लक्षित बर्गका कार्यक्रमहरुलाई समेत प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने गरेपनि यि कार्यक्रमहरु प्रभाबकारी बन्न सकेका छैनन् । चालु आर्थिक बर्ष २०८२/०८३ मा गाउँपालिकाले महिला, बालबालिका, अपाङ्गता, दलित, द्धन्द्धपीडित लगायतको क्षेत्रमा बजेट विनियोजन गरेपनि कार्यक्रमहरुको प्रभाबकारी कार्यान्वयनमा चुनौती देखिएको हो । पालिकाले गाउँसभाबाटै बजेट विनियोजन गरेपनि लक्षित समुदाय बजेट तथा योजना कार्यान्वनयमा उदासिन बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउनुभयो । यस बर्ष जेन–जी आन्दोलन, आम निर्वाचन, नयाँ सरकार गठन लगायतले मुलुकमा आएको राजनीतिक उतारचढापको कारण समेत स्थानीय तहहरुमा तालिम लगायतका कार्यक्रमहरु कार्यान्वनयमा अल्झन भएको थियो ।
समुदाय स्तरमा पूर्वाधारका विकास निर्माण योजनामा चासो राख्ने र लक्षित बर्गको शसक्तिकरण, सिप विकास लगायतका कार्यक्रमहरुमा चासो नदिने प्रचलनका कारण पनि लक्षित बर्गका कार्यक्रमहरु प्रभाबकारी रुपमा कार्यान्वय हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, यस बर्ष लक्षित बर्गका लागि बजेट विनियोजन भएका सुत्केरी महिलासंग उपाध्यक्ष कार्यक्रम, अपाङ्गता अधिकार सम्बन्धित सचेतनामुलक कार्यक्रम सम्पन्न भएपनि द्धन्द्धपीडित, महिला तथा एकल महिला शसक्तिकरण, दलित समुदायको शसक्तिकरण लगायतको कार्यक्रमहरु हालसम्म सञ्चालन हुन सकेका छैनन् ।
गाउँपालिकाले लक्षित समुदायका प्रतिनिधिहरुलाई प्रस्ताबना पेश गर्न अनुरोध गरेपनि कुनैपनि संघ संस्थाबाट कार्यक्रम सञ्चालन गर्न प्रस्ताबना नआएपछि ति कार्यक्रम कार्यान्वयन हुन कठिनाई भएको बताईएको छ । गाउँपालिकाले पूर्वाधार निर्माण संगै लक्षित समुदायलाई समेत जोड दिएर नीति तथा कार्यक्रम तयार गरेपनि सम्बन्धित सरोकारवालाहरुको उदासिनताको कारण कार्यक्रम कार्यान्वयनमा जटिलताहरु आउने गरेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले बताउनुभयो । पालिकाले बजेट विनियोजन गरिसकेका कार्यक्रमहरुको लागि समेत सरोकारवालाबाट चासो नदिने भएकाले पालिका आफैले अग्रसरता लिएर कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने अवस्था रहेको उपाध्यक्ष क्षेत्रीको भनाई छ । मंगलामा स्वास्थ्य सस्थामा सुत्केरी हुने महिलाहरुलाई पोषणका लागि २ हजार पाँच सय बराबरको कुखुराको भाले उपहार दिने कार्यक्रम प्रभाबकारी रुपमा सञ्चालन हुँदै आएको छ । (मंगला गाउँपालिकाको फलोसिप लेखनको सहयोगमा तयार पारिएको सामाग्री)