बेगखोलामा पानीको बहाब बढेपछि …………(फोटो फिचर)
- १८ भाद्र २०७४, आईतवार
- 5347 पटक पढिएको
म्याग्दी, १८ भदौ । बेनी –जोमसोम सडकको यात्रा निकै कष्टकर बन्ने गरेको छ । अबिरल बर्षाको कारण ठाउँ ठाउँमा खस्ने पहिरो, नदी कटानबाट सडकमा पुग्ने क्षति तथा खहरे खोलाहरुमा बढ्ने पानीको बहाबले यस सडक खण्डको यात्रा जोखिमपूर्ण र कष्टकर बनेको हो ।
७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको गलेश्वर–घाँसा खण्ड निकै नै जोखिमपूर्ण छ । अहिले यस सडक खण्ड अन्र्तगत बेगखोला, गुईठेभिर,बादरजुङ भिर लगायतका ठाउँमा नियमित जसो सवारी साधन अबरुद्ध हुने गरेको छ ।
विभिन्न ठाउँमा खस्ने पहिरोलाई यस सडक खण्डमा परिचालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले पन्छाउँदै सुचारु गराउने गरेपनि म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा भने बर्षातमा पानीको बहाब उच्च हुँदा सवारी साधन नै वारपार गर्न नसक्ने समस्या देखिएको छ ।
अहिले दैनिक जसो हुने अबिरल बर्षाले बेगखोलामा पानीको बहाब बढ्दा सवारी चालकहरुलाई समस्यामा पार्ने गरेको छ । यो ठाउँमा गत बर्ष आएको बाढीले बस्तीसंगै मोटरेवल पुल समेत बगाएपछि बेनी–जोमसोक खडकमा गुड्ने सवारी साधनका चालकहरुले सास्ती व्यहोर्दै आएका छन् ।
यो सडकको अबस्था दयनिय बन्दै गएपछि म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दाका साथै मुक्तिनाथ दर्शनका लागि आउने तिर्थयात्री र मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरु समस्यामा परेका छन् ।
तस्बिरः आदित्य सुवेदी