म्याग्दीमा निर्वाचन प्रहरी कार्यक्षेत्रमा परिचालन

  • ३० माघ २०८२, बिहीबार
  • 1 पटक पढिएको

म्याग्दी ,२९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सम्पन्न गराउन म्याग्दीमा नियुक्त गरिएका निर्वाचन प्रहरीलाई तालिम दिएर कार्यक्षेत्रमा परिचालन गर्न सुरु गरिएको छ । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लामा नियुक्त गरिएका ८६१ जना निर्वाचन प्रहरीलाई घरपायक पर्ने इलाका तथा प्रहरी चौकीसँग समन्वय गरी सुरक्षाको जिम्मेवारीमा परिचालन गर्न सुरु गरिएको हो ।
तालिम लिएका निर्वाचन प्रहरीलाई बुधबार देखि घरपायक पर्ने इलाका तथा प्रहरी चौकीहरूमा निर्वाचन सुरक्षाको गस्तीका लागि प्रहरीसँगै खटाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आबश्यक तालिम र निर्देशन सहित थप सुरक्षा दक्षताका लागि प्रहरी चौकीहरुमा खटाइएको उहाँले बताउनुभयो ।

निर्वाचनका समयमा खटिने सुरक्षाकर्मीसँगको समन्वयमा निर्वाचन प्रहरी परिचालन हुनेछन् । निर्वाचन प्रहरीले सुरक्षाकर्मीसँग मिलेर मतदान स्थलको सुरक्षा, भयरहित वातावरण बनाउन सहयोग र मतपेटिकाको ढुवानी लगायतका काम गर्ने जिम्मेवारी दिईएको छ । निर्वाचन प्रहरीको परिक्षामा उर्तिण भएकाहरुलाई प्रदान गरिएको दश दिने तालिम अवधिभर मतदान स्थलको जानकारी,सुरक्षा, भिड नियन्त्रण गर्ने तरिका,निर्वाचन ऐन कानुन सम्बन्धी जानकारी लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । म्याग्दीमा ८ सय ६१ निर्वाचन प्रहरी भर्ना गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम रहेका छन् ।