म्याग्दीमा ९२३ किशोरीलाई एचपिभी खोप लगाउने तयारी

  • २६ माघ २०८२, आईतवार
  • 1 पटक पढिएको

म्याग्दी, २५ माघ ः पाठेघरको मुखको क्यान्सर रोकथामका लागि म्याग्दीमा नौ सय बढी किशोरीहरुलाई एचपीभी खोप लगाउने तयारी गरिएको छ । माघ २७ देखि फागुन ४ गतेसम्म जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालन हुने खोप अभियानमा लक्षित उमेर समूहका ९२३ जना किशोरीहरुलाई खोप लगाउने तयारी गरिएको हो ।
आइतबार जिल्लाका सञ्चारकर्मीहरुसँग खोप कार्यक्रम सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले कक्षा ६ मा अध्ययनरत ९१३ जना छात्रा, विद्यालय नजाने १० बर्ष उमेरका ६ जना बालिका र गत बर्ष खोप लगाउन छुटेका ४ जना किशोरीलाई यस बर्ष खोप लगाउने जानकारी दिनुभयो ।
गत बर्ष कक्षा ७ देखि कक्षा १० सम्म अध्ययरत किशोरी तथा विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई अभियानको रुपमा सञ्चालन गरिएको एचपिभी खोपलाई यस बर्ष नेपाल सरकारले नियमित कार्यक्रममा समावेश गरेको छ । जिल्लामा खोप अभियानका लागि स्वास्थ्यकर्मीको परिचालन, खोप केन्द्र निर्धारण,सरोकारवालाहरुसँगको समन्वय वैठक लगायतका सबै तयारी पूरा भएको जनाईएको छ ।
जिल्लामा बेनी नगरपालिकामा ३३४ जना, मंगला गाउँपालिकामा ११२ जना, मालिका गाउँपालिकामा १७८ जना, धवलागिरी गाउँपालिकामा १४१ जना, रघुगंगा गाउँपालिकामा ९१ जना र अन्नपूर्ण गाउँपालिकामा ६७ जना छात्रा र बालिकाहरुलाई एचपिभी खोप दिने लक्ष्य लिईएको छ ।
खोप लगाउनका लागि विद्यालय र स्वास्थ्य संस्था गरी १०३ वटा खोप केन्दको व्यवस्था गरिएको छ । अभियानमा १०७ स्वास्थ्यकर्मी र १०७ जना स्वयमसेवकहरु परिचालन गरिने तयारी भएको छ । म्याग्दीमा हालै एक जना महिला स्वास्थ्यकर्मीको पाठेघरको क्यान्सरको कारण निधन भएको थियो । जिल्लामा पाठेघरको क्यान्सरको पहिचान र उपचारको लागि प्रदेश जनस्वास्थ्य कार्यालय र स्थनीय तहहरुबाट समेत स्कृनिङ्ग शिविरहरु सञ्चालन हुँदै आएको कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो ।