म्याग्दीको विकास, सुशासन र आर्थिक विकास मेरो प्राथमिकतामा छनः नेकपा उम्मेदवार अर्जुन थापा
- १६ माघ २०८२, बिहीबार
- 3 पटक पढिएको
म्याग्दी, १५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएका अर्जुन थापाले म्याग्दीको विकास, सुशासन र आर्थिक विकास आफ्नो पहिलो प्राथमकितामा रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा बेनीमा आयोजित उम्मेदवार थापासंगको अन्र्तक्रिया कार्यक्रम तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले यस्तो बताउनुभएको हो ।

उहाँले मुलुकको मुल नीति नै राजनीति भएकाले नयाँ पुस्तामा भष्ट्राचार नियन्त्रण, सुशासन र समृद्धिको नेतृत्वको लागु युवाहरु अगाडी बढ्नुपर्ने माग बढीरहेकाले आफु नयाँ पुस्ताको भावनालाई सम्बोधन गर्न उम्मेदवार बनेको बताउनुभयो ।‘‘ हाम्रो पार्टीले भष्ट्राचार नियन्त्रणलाई पहिलो मुद्धा बनाएको छ, मुलुकको विकास र समृद्धिमा नेकपाको स्पष्ट दृष्टिकोण छ, हामी मुलुकमा सुशासन सहितको समृद्धिको लागि लागीपरेका छाँै’’–उम्मेदवार थापाले भन्नुभयो ।

युवा नेता समेत रहनुभएका थापाले म्याग्दी हिमाली र दुर्गम भूवनोटमा रहेको जिल्ला भएकाले यहाँ केन्द्रीय तहबाट हस्तक्षपकारी भूमिका खेलेर विकास निर्माणका योजना र बजेट भित्र्याउन आबश्यक रहेको बताउँदै यस अघि केन्द्रिय सरकारमा पार्टीको नेतृत्व र सहभागीता रहँदा आफुले जिल्लाका नेता तथा जनप्रतिनिधि र केन्द्रिय स्तरमा सहजीकरणको काम गरेको बताउनुभयो । म्याग्दी जलविद्यूत, पर्यटन, कृषिलगायतका क्षेत्रमा सम्भावनायुक्त भएपनि त्यसबाट जिल्लाले उचित रुपमा लाभ लिन नसकिरहेको बताउँदै उम्मेदवार थापाले जिल्लाका नागरिकको जीवनस्तरलाई उकास्ने गरी आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

४२ वर्षीय थापा धवलागिरी गाउँपालिका–७ धारापानीका हुनुहुन्छ । शिवाङमा रहेको हेम (नमुना आवासीय) माविमा वि.स. २०५४ मा अनेरास्ववीयु क्रान्तिकारीको प्रारम्भिक समितिको अध्यक्ष बनेर राजनीतिक यात्रा शुरु गरेका नेकपाका उमेद्वार थापा नेकपाको विशेष प्रदेश समन्वय समितिको सचिवालय सदस्य हुनुहुन्छ । आर.आर. क्याम्पस र भक्तपुरमा अखिल क्रान्तिकारीको नेतृत्व गरेका थापाले राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका छन् । प्रतिस्पर्धी उमेद्वारहरुको तुलनामा थापा कम उमेरका हुनुहुन्छ ।

थापाको नेतृत्वमा काठमाडौमा स्वतन्त्र रक्तदाता समूहले बिरामीहरुलाई निशूल्क रगतको ब्यवस्था मिलाउदै आएको छ । ५२ पटक रक्तदान गरेका थापाले आफ्नो समूहले १० हजार जना भन्दा बढी बिरामीलाई उपचारका लागि निशूल्क रगतको व्यवस्था मिलाएको बताउनुभयो ।
भ्रष्ट्राचार र बेथितिका विरुद्ध काठमाडौमा विभिन्न अभियानको अगुवा गरेका थापाले बैदेशिक रोजगारीको क्रममा ठगिएका पिडितहरुको पक्षमा पैरवी गर्दै आउनुभएको छ । बुवा र आमाको नामबाट चन्द्रलोक शैक्षिक कोष स्थापना गरेर धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा पछिल्लो तीन वर्षयता विपन्न, गरिब र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आउनुभएको छ ।

