बिममा नौमती बाजाघर निर्माण

  • १६ माघ २०८२, बिहीबार
  • 1 पटक पढिएको

१४ माघ ः म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ । मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्जेबाजा समूहले दुई कोठे बाजाघर निर्माण गरेका हुन् । समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा मौलिक लोकबाजा भण्डारण, संरक्षण र तालिम सञ्चालन गरिने जानकारी दिनुभयो । मलिका गाउँपालिकाले रु. सात लाख ७६ हजार अनुदान सहयोग गरेको भवन निर्माणका लागि समूहले देउसीभैलो र चन्दा संकलन गरेर जुटाएको थप रु. दुई लाख २३ हजार खर्च भएको उहाँले जानकारी दिनुभयो ।

बिम–मालिका संघको सहयोगमा वि.स. २०७७ का पहिरो पिडितहरुको लागि एकिकृत बस्ति स्थापनाका लागि खरिद भएको जग्गामा भवन निर्माण भएको हो । उक्त ठाउँमा यसअघि म्याग्दी प्रवासी नेपाली संघ (मोना)को सहयोगमा १० वटा घर निर्माण गरेर एकिकृत सामुदायिक बस्ति स्थापना भएको थियो । भवनको गण्डकी प्रदेश सांसद रेशमबहादुर जुग्जाली (सुविन)ले बुधबार उद्घाटन गर्नुभयो । जुग्जाली, वडा अध्यक्ष टकलाल पुनले बिमको मौलिक कला र संस्कृतिको संरक्षणका लागि भवन सहयोगी बन्ने अपेक्षा गर्नुभयो । उक्त भवनमा भेला, बैठक, तालिम सञ्चालन गर्न सहज भएको छ ।

व्यक्तिको घर, आगन र सार्वजनिक ठाउँमा भेला, बैठक सञ्चालन गर्नुपर्ने अवस्था हटेको छ । उक्त भवनमा मौलिक नौमति बाजाको संग्रहालयको रुपमा विकास गर्ने योजना रहेको छ । भवन उद्घाटन कार्यक्रममा पुर्वमन्त्री समेत रहेका जुग्जालीले बिम र डाडाँगाउँको बस्तिभित्र कालोपत्र हुने गरि खारा–बिम सडक स्तरोन्नतिको आयोजना सञ्चालन भएको बताउनुभयो । यसैगरी मालिका गाउँपालिका–७ मा पर्ने प्रभुचेलामा पूर्वाधार निर्माणका लागि प्रदेश सरकारबाट योजना भित्र्याएको र शिवरात्रीखोलामा मोटरेबल पुल निर्माणाधिन रहेको जानकारी दिनुभयो । यस वर्ष बिम–मराङ–मल्कवाङ सडक स्तरोन्नति आयोजनाका लागि रु. पाँच करोडको बहुबर्षीय ठेक्का आव्हानको तयारी भएको जानकारी दिनुभयो । वडा अध्यक्ष टकलाल पुनले वडाको विकासमा सबैसँग समन्वय गरेर विभेदरहित हिसाबले काम गरेको बताउनुभयो । जातीय भेदभाव अन्त्यका लागि पनि आफू प्रतिवद्ध रहेको बताउनुभयो ।