१२ वर्षपछि प्रतिनिधीसभामा आफ्नै चुनाव चिन्हमा मत खसाल्दै म्याग्दीका नेकपा

  • १३ माघ २०८२, सोमबार
  • 27 पटक पढिएको

सन्तोष गौतम बेनी । नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीमा १२ वर्षपछि प्रतिनिधीसभा सदस्य निर्वाचनमा आफ्नै चुनाव चिन्हमा मत खसाल्ने भएका छन् । यसअघि वि.स. २०७४ मा एमाले र २०७९ मा नेपाली काँग्रेसका उमेद्वारलाई सघाएको तत्कालीन नेकपा (माओवादी केन्द्र), एकिकृत समाजवादी लगायतका राजनीतिक दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीमा प्रतिनिधीसभा सदस्य निर्वाचनमा १२ वर्षपछि आफ्नै उमेद्वार बनाएको हो । नेकपाले २०७४ मा म्याग्दीको प्रदेशसभा १(क) बिनोद केसीलाई उमेद्वार बनाएर प्रतिनिधीसभामा एमालेका भुपेन्द्रबहादुर थापालाई सघाएको थियो । वि.स. २०७९ मा नेपाली काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)लाई सघाएको नेकपाबाट प्रदेश १(क) मा हरिबहादुर भण्डारी र १(ख) मा रेशमबहादुर जुग्जालीलाई जिताएको थियो । एकै साथ भएका पछिल्लो दुई वटा प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा म्याग्दीमा एमाले र काँग्रेससँगै पालैपालो गठबन्धन गरेर सहयोग गरेको र लाभ लिएको नेकपाले आसन्न चुनावमा धवलागिरी गाउँपालिका–२ का अर्जुन थापालाई उमेद्वार बनाएर एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।

वि.स. २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा माओवादीका गोविन्द पौडेलले २३ हजार भन्दा बढी मत ल्याएर बिजयी भएको म्याग्दीमा वि.स. २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा लोकेन्द्र बिष्टमगरलाई उमेद्वार बनाएपनि जित निकाल्न सकेन् । विगतका सहकर्मी दलसँग एकल प्रतिस्पर्धा दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नवराज शर्मा बिजयी हुदाँ काग्रेसका खमबहादुर गर्बुजा दोस्रो र तत्कालीन माओवादीका बिष्ट तेस्रो भएका थिए । यसपाली काँग्रेसले जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (के.बी.) र एमालेले दुई पटक जिल्ला कमिटिको अध्यक्ष, एक कार्यकाल प्रदेश सचिवालय सदस्य र हाल केन्द्रिय सदस्य रहेका हरिकृष्ण श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ ।

विगतका चुनावमा एमाले काँग्रेस प्रतिस्पर्धी हुँदा जितहारमा निर्णायक भएको दावी गर्ने नेकपाका लागि विगतका सहयात्रीहरुसँग मात्र नभएर अन्तरिम सरकारको शिक्षा, विज्ञान, तथा प्रबिधीमन्त्रिबाट राजीनामा दिएर पुख्यौली थलो म्याग्दीमा स्वतन्त्र उमेद्वार बनेका महाबिर पुनको पनि सामना गर्नुपर्ने चुनौति छ । महाबिरलाई रास्वपाका उमेद्वार युवराज रोकाले सर्मथन गरेका छन् । नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपा (माओवादी)ले दन्द्धकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पुर्व स्ववीयु सभापति क्षेत्रबहादुर घिमिरे (धु्रब) लाई उमेद्वार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उमेद्वार बनेका छन् । प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र रहेका जिल्ला निर्वाचन अधिकारी बिमल गौतमले बताए ।

नेकपाका नेताको दावी नेपाली कम्युनिष्ट पार्टी म्याग्दीका निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका गण्डकी प्रदेश सांसद तथा पुर्वमन्त्री रेशमबहादुर जुग्जालीले फेरिएको राजनीतिक परिस्थिति अनुसार नयाँ पुस्ताका युवा उमेद्वार, राष्ट्रिय राजनीति र प्रचण्ड नेतृत्वको पछिल्लो सरकारले भ्रष्ट्राचारको बिरुद्ध तथा शुसासनको पक्षमा खेलेको भूमिका, जिल्लाको विकास निर्माणमा आफूहरुले गरेको काम, माओवादी घटकमा रहेकाहरु कार्यकर्ता फर्किएका, एकिकृत समाजवादीसँग एकता भएको, सगठनमा सुधार भएकाले जितको आधार बनेको दावी गर्छन् ।

‘राष्ट्रिय राजनीति होस या जिल्लाको विकास निर्माणमा हाम्रो भूमिकाले कार्यकर्ताहरु उच्च मनोबलका साथ जनताकहाँ पुगेर भोट माग्ने थुप्रै आधार छन, भदौ २३ को जेनजी आन्दोलनमा दमन गर्ने र २४ गते बिध्संस मच्चाउनेलाई जनताले चिनेका छन,’ उनले भने ‘प्रदेश सरकारबाट म्याग्दीका १० वटा प्रमुख ग्रामिण सडक स्तरोन्नति, पुराना अधुरा योजनाहरुलाई पूर्णता दिन, खानेपानी, विद्युत सुविधा विस्तार र पर्यटन पूर्वाधारको क्षेत्रमा हामीले सुरुवात गरेका कामलाई निरन्तरता दिनका लागि पनि नेकपाका उमेद्वारलाई जिताउनुपर्छ ।’ वि.स. २०७० को विभाजनपछि हालै नेकपामा आवद्ध भएका संविधानसभा सदस्य गमबहादुर श्रीसले पुर्व माओवादीहरु केन्द्रित भएको म्याग्दीमा नेकपाले १२ बर्षपछि आफ्नै उमेद्वार बनाउँदा कार्यकर्तामा आत्मबल बढेको, शुभचिन्तक र मतदाताहरु उत्साहीत हुँदा परिणाम आफ्नो पक्षमा आउने दावी गर्छन् ।

वि.स. २०७० को तुलनामा २०७४ र २०७९ मा माओवादीको समानुपातिक मत बढ्नु पनि म्याग्दीमा यसपाली जितको आधार भएको नेताहरु दावी गर्छन् । २०७९ मा एमालेले १८ हजार दुई सय ७३, नेपाली काँग्रेसले १३ हजार छ सय ९३, तत्कालीन माओवादी केन्द्रले नौ हजार ७०, रास्वपाले तीन हजार पाँच सय ७९, राप्रपाले एक हजार दुई सय ५३ र एकिकृत समाजवादीले दुई सय ८५ प्राप्त गरेका थिए । को हुन अर्जुन थापा ? धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम (नमुना आवासीय) माविमा वि.स. २०५६ मा अनेरास्ववीयु क्रान्तिकारीको प्रारम्भिक समितिको अध्यक्ष बनेर राजनीतिक यात्रा शुरु गरेका नेकपाका उमेद्वार थापा नेकपाको विशेष प्रदेश समन्वय समितिको सचिवालय सदस्य हुन् । आर.आर. क्याम्पस र भक्तपुरमा अखिल क्रान्तिकारीको नेतृत्व गरेका थापाले राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका छन् ।

प्रतिस्पर्धी उमेद्वारहरुको तुलनामा थापा कम उमेरका हुन् । थापाको नेतृत्वमा काठमाडौमा स्वतन्त्र रक्तदाता समूहले बिरामीहरुलाई निशूल्क रगतको ब्यवस्था मिलाउदै आएको छ । ५२ पटक रक्तदान गरेका थापाले आफ्नो समूहले १० हजार जना भन्दा बढी बिरामीलाई उपचारका लागि निशूल्क रगतको व्यवस्था मिलाएको बताउँछन् । भ्रष्ट्राचार र बेथितिका विरुद्ध काठमाडौमा विभिन्न अभियानको अगुवा गरेका थापाले बैदेशिक रोजगारीको क्रममा ठगिएका पिडितहरुको पक्षमा पैरवी गर्दै आएका छन् । बुवा र आमाको नामबाट चन्द्रलोक शैक्षिक कोष स्थापना गरेर धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा पछिल्लो तीन वर्षयता विपन्न, गरिब र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आएका छन् ।

उमेद्वारका मुद्दा उनले संसदमा नवयुवा पुस्ताको भावना र आवाज तथा माग अनुसारको नीति निर्माणका लागि आवाज उठाउन, संसदमा म्याग्दीको तर्फबाट बलियो उपस्थिति देखाउने र विकास निर्माणका लागि सरकारसँग पहुँच स्थापित तथा स्थानीय स्तरमा समन्वयको मुद्दालाई अघि सारेका छन् । ‘संसदमा म्याग्दी पनि छ है भन्ने भन्ने देखियोस, सरकारमा रहँदा पहुँच, सम्बन्ध बनाएर अथवा समन्वय गरेर बजेट र योजना ल्याउन तथा जिल्लाबासीको दुखःमा साथै रहने जनप्रतिनिधी यहाँका जनताको चाहना भएको मेरो बुझाई छ,’ थापा भन्छन् ‘संघीय ऐन, कानुन निर्माणमा सक्रिय तथा विकास निर्माणका लागि सरकारसँग हस्तक्षेप र समन्वयकारी भुमिका तथा म्याग्देली जनताको आवाजलाई संसद मार्फत सरकारको ध्यानकर्षण गराउन सशक्त भूमिका खेल्नेछु ।’