नेपाल विद्युत प्राधिकरणद्धारा ग्राहकहरुको विस्तृत विवरण संकलन गर्न सुरु

  • ३ पुष २०८२, बिहीबार
  • 1 पटक पढिएको

म्याग्दी, ३, पुस । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले ग्राहकहरुको विस्तृत विवरण संकलनका लागि ‘केवाइसी’ फाराम भर्ने अभियान सञ्चालन गरेको छ । जिल्लामा केन्द्रिय विद्युतिकरणको पहुँच पुगेका ठाउँमा वितरण केन्द्र मार्फत मिटर बक्स जडान गरी विद्युत सेवा उपभोग गर्ने ग्राहकहरुको पहिचानका लागि कार्यालयले केवाइसी विवरण संकलन गर्न सुरु गरेको हो ।


हरेक ग्राहकले नागरिकता, घरजग्गाको लालपुर्जा,ग्राहक बिल र एक प्रति पासपोर्ट साइजको फोटो सहित आफ्ुनो केवाइसीलाई अध्यावधिक गर्न सकिने व्यवस्था मिलाईएको छ । वितरण केन्द्रको मंगलाघाट स्थित कार्यालयमै पुगेर, कार्यालयको ९८५७६३३१७७मा ह्वाटअप र इमेलमा आबश्यक कागजात पेश गरेर केवाइसी अपडेट गर्न सकिने व्यवस्था मिलाईएको कार्यालयका लगत प्रमुख विवेके उपाध्यायले जानकारी दिनुभयो । कार्यालयले विहिवार बेनी नगरपालिका– १ रत्नेचौरमा वडा कार्यालयको समन्वयमा घुम्ती कार्यक्रम सञ्चालन गरेर उपभोक्ताहरुको केवाइसी विवरण संकलन गरेको कार्यालयका प्रमुख सत्यनारायण गामीले बताउनुभयो । डिजिटल नेपाल विद्युत प्राधिकरण अभियान अन्तर्गत जिल्लामा रहेका सम्पूर्ण ग्राहकहरुको विस्तृत विवरण अध्यावधिक गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । रत्नेचौरमा आयोजित कार्यक्रमबाट १५० जनाले केवाइसी विवरण बुझाएका छन् । कार्यक्रममा कार्यालय प्रमुख गामी, लेखा प्रमुख श्याम राना, इञ्जिनियर प्रकाश झा, प्रशासन प्रमुख लोकेन्द्र थापा, लगत प्रमुख उपाध्याय, फोरमेन, जितेन्द्र मुखीया , सिमिरे गोविन्द शर्मा, सहायक लेखापाल सुमन पौडेल, काउन्टर प्रतिनिधि गणेश पौडेल लगायतले केवाइसी विवरण संकलन गर्नुभएको थियो । यस अभियानबाट ग्राहकहरुको तीन पुस्ते विवरणका साथै सम्पर्क नम्बर र आबश्यक नयाँ विवरणहरु समेत संकलन हुने र ग्राहकहरुलाई छिटो र छरितो तवरले सेवा दिन समेत सहयोग पुग्ने कार्यालयले जनाएको छ । यस अघि मिटर जडान गरेका कतिपय ग्राहकहरुको अभिलेख कार्यालयमा नभएकाले समेत यस अभियानबाट सबै ग्राहकहरुको पहिचान हुने अपेक्षा गरिएको छ ।