भिजिट भिसा प्रकरणमा छानविनमा तानिएपछि म्याग्दीका सीडीओ तिवारीको सरुवा
- ३० मंसिर २०८२, सोमबार
- 87 पटक पढिएको
म्याग्दी, २९ मंसिर, । भिजिट भिसा प्रकरणमा अनुसंधानमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रि प्रसाद तिवारीको सरुवा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीमाथि समेत भिजिट भिसा प्रकरणमा अनुसन्धान भइरहेको बताएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी खोस्दै मन्त्रालयमा तानेको बताईएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार उनलाई गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको हो । तिवारी गत भदौमा म्याग्दीको प्रजिअको जिम्मेवारीमा खटिएर आउनुभएको थियो । कार्यालयमा आगमन हुँदा तिवारीले जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमै पिर्कामाथि सलामी लिएको तस्बिर सार्वजनिक भएपछी अालाेचना भएकाे थियाे ।
तिवारीलाई मन्त्रालय तानेर म्याग्दीको सीडीओको रुपमा रवीन्द्र आचार्यलाई पठाइएको छ । उहाँ शान्ति सुरक्षा महाशाखामा कार्यरत उपसचिव हुनुहुन्छ । तिवारी तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा उहाँको निजी सचिव भएर काम गर्नुभएको थियो । केही दिनअघि मात्रै विशेष अदालतमा दायर भएको भिजिट भिसा प्रकरणमा तत्कालिन गृहमन्त्री लेखकसहित उहाँका तत्कालिन निजी सचिब तिवारीलगायतका व्यक्तिमाथि पनि छानबिन भएको अख्तियारले जनाएको छ ।