अन्नपूर्ण आधार शिविरलाई खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गरिने

  • २३ जेष्ठ २०८२, बिहीबार
  • कमल खत्री
  • 93 पटक पढिएको

म्याग्दी , २२ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरलाई खेलकुद पर्यटनसंग जोडिने भएको छ । अन्नपूर्ण हिमाल आरोहणको ७५ बर्ष पूरा भएको अवसरमा आयोजित अन्नपूर्ण हीरक महोत्सवमा पहिलो पटक आयोजित म्याराथन दौड प्रतियोगिताले आधार शिविर क्षेत्रमा खेलकुद पर्यटनको सम्भावना उजागर गरेको हो ।

समुद्री सतहदेखि ४ हजार १९० मिटर उचाइमा रहेको आधार शिविरबाट नारच्याङ गाउँसम्म सञ्चालन भएको म्याराथन दौड प्रतियोगिता सफल भएको र यसले आधार शिविरमा खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न सकिने आधार तयार गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । आधार शिविरदेखि नारच्याङ गाउँसम्मको ३८ किलोमिटर दुरीको मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा ४० जनाले सहभागीता जनाएका थिए । हिमपात भैरहने आधार शिविरमा खेलकुद प्रतियोगिता आयोजना भएपछि खेलाडीहरु समेत उत्साहित बनेका थिए ।
उच्च उचाईमा रहेको आधार शिविरमा पहिलो पटक आयोजना गरिएको म्याराथन दौड प्रतियोगिताले यस क्षेत्रमा खेलकुद गतिविधि मार्फत पर्यटन प्रवद्र्धनमा लाग्न हौँसला थपेको नारच्याङका पर्यटन अभियन्ता तेज गुरुङले बताउनुभयो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण अन्नपूर्ण आधार शिविरमा प्रकृतिमा रमाउनका लागि पर्यटकहरु आउने गरेकोमा अब साहसीक खेलकुद गतिविधि मार्फत समेत पर्यटकहरुलाई भित्र्याउन सकिने सम्भाबना बढेको गुरुङले बताउनुभयो ।
अन्नपूर्ण आधार शिविर समुद्री सतहदेखि ४ हजार ३२० मिटर उचाईसम्म रहेको छ । उच्च हिमाली क्षेत्रमा अल्ट्रा म्याराथन दौड प्रतियोगिता निकै प्रचलित मानिन्छ । हिमाली क्षेत्रमा आयोजना हुने खेलकुद गतिविधि साहसीक मानिने भएकाले यसको चर्चा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा समते हुने गर्छ । पहिलो पटक जिल्ला स्तरीय म्याराथन दौड आयोजना भएकाले आगामी दिनमा आधार शिविरबाट राष्ट्रिय स्तरको अल्ट्रा म्याराथन दौड प्रतियोगिता आयोजना गर्न सकिने गण्डकी प्रदेश यथलेटिक्स संघका कोषाध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।
हीरक महोत्सवको अवसरमा आयोजित म्याराथन दौड प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जित्नुभएको छ । सन् १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रर्वद्धन गर्ने उद्देश्यले हीरक महोत्सव मनाईएको छ । अन्नपूर्ण गाउँपालिकाले दुई बर्ष अघि अन्नपूर्ण आरोहण दिवसको अवसरमा आधार शिविरमा छोटो दुरीको दौड लगायतका खेलकुद प्रतियोगिता सम्पन्न गरिसकेको छ । हिमाली भूगोलमा खेलकुद गतिविधिबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्चित खेलाडीहरु मार्फत पर्यटन प्रवद्र्धनलाई जोड्ने गाउँपालिकाको योजना रहेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l