सडक निर्माणले मालिका धुरी जाने यात्रा अवधि छोटियो

  • २६ चैत्र २०८१, बुधबार
  • 519 पटक पढिएको

 

म्याग्दीको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मालिका धुरी जाने यात्रा अवधि छोटिएको छ । मालिका गाउँपालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने मालिका धुरीमा पुग्नका लागि रघुगंगा गाउँपालिका – ६ ठाडाखानीदेखि सडक निर्माण गरिएको हो ।

 

ठाडाखानीदेखि सरघारी हुँदै जोगीदेउराली डाँडासम्म सडकको ट्याक निर्माण भएको रघुगंगा गाउँपालिका ६ का वडा सदस्य टेकजीत छन्त्यालले जानकारी दिनुभयो । “ पहिले ठाडाखानीदेखि तीन घण्टा पैदल यात्रा गर्नुपथ्र्यो, अहिले सडक मार्ग बनेपछि यात्राअवधि छोटिएर एक घण्टामै पुग्न सकिने भएको छ” – उहाँले भन्नुभयो ।

 

चालु आर्थिक बर्षमा गाउँपालिकाबाट विनियोजन भएको रु ८ लाख बजेटमा समुदायको अगुवाईमा थप १२ लाख जुटाएर सडक निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ । सडक निर्माण सुरु भएको पाँच बर्ष भैसक्दा समेत ट्याक निर्माणले पूर्णता पाउन नसकेपछि देश तथा विदेशमा रहेका ठाडाखानीबासीबाट चन्दा संकलन गरेर सडकलाई जोगी देउराली डाँडासम्म पु¥याइएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर छन्त्यालले बताउनुभयो ।

गत बर्ष गाउँपालिकाबाट रु १० लाख र स्थानीयबासीको चन्दा संकलनबाट रु ८ लाख बजेट जुटाएर सरघारीसम्म सडकको ट्याक निर्माण गरिएको थियो । अहिले सडकको ट्याक पुगेको देउराली धुरीमा सवारी साधन पार्किङका लागि समेत जग्गा सम्माइएको छ ।

 

प्रसिद्ध धार्मिक स्थल मालिका धुरी पुग्ने सडकको ट्याक निर्माणमा पालिकाको बजेटमा श्रमदान र सहयोग जुटाएर लक्ष्यभन्दा धेरै काम गरी उपभोक्ता समितिले उदाहरणीय काम गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।

 

“हामीले सडकको अनुगमन पनि गरेका छौँ, पालिकाको बजेटभन्दा बढी रकम समुदाय स्तरबाटै जुटाएर सडक निर्माणमा खर्च गरेको पाएका छौँ, विकासमा सरकार र समुदायको साझेदारीले उल्लेख्य उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने उहादरण ठाडाखानीबासीले दिएका छन्”( उहाँले भन्नुभयो । मालिका धुरी जानका लागि मालिका गाउँपालिकाको बिमबाट समेत सडक निर्माण भैरहेको छ ।

 

समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाईमा अवस्थित मालिका धुरीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनको लागि सडकको पहुँच संगै अन्य पर्यटन पूर्वाधार निर्माणमा समेत जोड दिएको छ । म्याग्दीका ३५ भन्दा बढी गाउँ देख्न सकिने मालिका धुरीबाट सिस्ने, गुर्जा, मानापाथी, धौलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु लगायतका २० भन्दा बढी हिमशृङखलाको लहरै दृष्य अवलोकन गर्न सकिन्छ भने यहाँबाट सुर्योदयको दृष्य मनमोहक देखिन्छ ।

 

मालिका क्षेत्रको जंगलमा पाईने लालीगुराँस, वन्यजन्तु, पंक्षि, विभिन्न प्रजातीका फुल, जडिवुटी र वन पैदावार थप आकर्षण हो । पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको मालिका धुरीमा पुजा गरेमा मनोकामना पुरा हुने धार्मिक मान्यता समेत रहेको छ । चण्डी पूर्णीमा, जेष्ठि पूर्णीमा, भाईटिका र बालाचर्तुदर्शीमा यहाँ बिशेष पुजा लाग्ने गरेको छ । मालीका, कालीका र जाल्पादेवीको मुर्ती रहेको मालिका मन्दिरमा भाकल पुरा भएमा बोका र परेवाको बली चढाउने चलन रहेको छ । वि.स १९१० देखि पुजाआजा हुन थालेको ईतीहाँस रहेको मालीकामा पछिल्लो समय बलीको बिकल्पमा नरीवल चढाउने चलन बसाईएको छ । भगवान शिव र पार्वती भ्रमणमा आएका बेला पार्वतीको माला खसेकाले मालिका नाम रहन गएको किम्बदन्ती छ ।