सुशील गर्बुजा हत्यासम्बन्धी मुद्दामा छ जनालाई जन्मकैद
- २१ चैत्र २०८१, शुक्रबार
- 3379 पटक पढिएको
न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले छ जनालाई जन्मकैद (जनही २५ वर्षका दरले) सजायको फैसला सुनाउनुका साथै घटनाका सहयोगी ठहरिएका थप नौ जनाको सजाय निर्धारणका लागि यही चैत २७ गते पेशी तोकेको हो । रघुगंगा गाउँपालिका–१ बेग घर भई बेनी नगरपालिका–८ पिपलचोकका २१ वर्षीय गर्बुजाको २०८० माघ ११ गते साँझ बेनी–८ न्युरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो ।
जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले धवलागिरि गाउँपालिका–४ का २३ वर्षीय शंकर घर्ती, २२ वर्षीय अमृत पुर्जा, बेनी–५ का २४ वर्षीय सफल खत्री, परिवर्तित नाम ४३ (ध), ४३ (ड) र ४३ (म)लाई जम्मकैदको सजाय तोकिएको जानकारी दिए ।
रघुगंगा–७ चिम्खोलाका उत्सव पुन, मनिष तिलिजा, वडा नं २ का सञ्जन खत्री, मंगला गाउँपालिका–२ का प्रवीण जिसी, बेनी–९ का सविन राई, जलजला गाउँपालिका–३ पर्वतका सोहन बरुवाल, परिवर्तित नाम ४३ (त), ४३ (न) र ४३ (फ)लाई चैत २७ गतेको पेशीले सजाय निर्धारण गर्ने सूचना अधिकारी पौडेलले बताए ।
बालबालिकासम्बन्धी कानुनले १४ देखि १६ वर्षसम्मकालाई आधा र १६ देखि १८ वर्ष सम्मकालाई एकतिहाइ सजाय छुट हुने व्यवस्था गरेको छ । १६ वर्षभन्दा कम उमेरको भएका कारण ४३ (ध) ले १६ वर्ष १० महिना ७ दिन कैद भुक्तान गर्नुपर्ने उनले उल्लेख गरे । उनका अनुसार चौधदेखि १६ वर्ष उमेर समूहका ४३ (ड) र ४३ (म)ले १२ वर्ष छ महिना सजाय भुक्तान गर्नुपर्ने छ ।
०८० फागुन १० गते अदालतले सुशीलको हत्यासम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेका १३ मध्ये आठजना बयस्कलाई कारागार र पाँच नाबालकलाई सुधारगृह पठाउन आदेश दिएको थियो ।