म्याग्दी जेसीजद्धारा शाखाका सदस्यहरुको दुर्घटना विमा

  • २७ माघ २०८१, आईतवार
  • 27 पटक पढिएको

म्याग्दी, २७ माघ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजले शाखा सदस्यहरुको निशुल्क दुर्घटना विमा गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीको बेनी शाखासंगको सहकार्यमा जेसीजका सदस्यहरुको दुर्घटना विमा गरिएको हो ।

म्याग्दी जेसीजको सन २०२५ को नवनिर्वाचित कार्य समितिले बार्षिक कार्ययोजनामा समावेश गरि प्रथम सञ्चालक समिति बैठकबाट अनुमोदन गरेर शाखा सदस्यहरुको दुर्घटना विमा गर्ने निर्णय बमोजिम शाखामा रहेका सदस्यहरुको बीमा गरिएको शाखा अध्यक्ष विनोद घर्तिले बताउनुभयो । उहाँका अनुसार, दुर्घटना बीमा गर्दा लाग्ने खर्च जेसीजले व्यहोर्नेछ । ‘‘ दुर्घटना सकभर कसैलाई नपरोस भन्ने हाम्रो कामना हो, तर दुर्भाग्यबस कुनै सदस्य दुर्घटनामा परेको समयमा राहत प्रदान गर्न सकियोस भन्ने उदेश्यले सदस्यहरुको दुर्घटना बिमा योजना सुरु गरेका हौँ’’– अध्यक्ष घर्तिले भन्नुभयो । यो बिमा योजना अन्तरगत सदस्यहरुको २४ सै घण्टा जोखिम बहन गर्ने उल्लेख छ । यस बीमा अन्तरगत दुर्घटनामा परेरे कुनै सदस्यको निधन वा पूर्ण अशक्तता भएमा रु १ लाख र घाइते भएमा उपचारका लागि रु १ लाख सम्मको आर्थिक सहयोग प्रदान गरिने शिखर इन्स्योरेन्स बेनी शाखाका प्रवन्धक समेत रहनुभएका म्याग्दी जेसीजका उपाध्यक्ष कपिल बानियाँले जानकारी दिनुभयो ।

बीमा योजनालाई दिर्घकालिन र व्यवस्थित बनाउन कार्यविधि तयार गरिने म्याग्दी जेसीजले जनाएको छ । शिखर इन्स्योरेन्स बेनी शाखाले म्याग्दीमा चर्चित जेसीजकप फुटवल प्रतियोगितामा समेत सन २०२२ देखि नियमित रुपमा खेलाडीहरुको निशुल्क विमा गर्दै आएको छ । यसैबिच एक समारोहका बिच म्याग्दी जेसीजका सदस्यहरुलाई बिमा पोलेसी हस्तान्तरण गरिएको छ । म्याग्दी जेसिजका शाखा अध्यक्ष घर्तिको अध्यक्षता, पूर्व अध्यक्ष खम थापा मगरको प्रमुख आतित्यथामा भएको कार्यक्रममा बरिष्ठ कार्यकारीणी उपाध्यक्ष सज्जन श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा कार्यक्रम संयोजक एवंम म्याग्दी जेसीजका उपाध्यक्ष कपिल बानियाँले दुर्घटना बीमाको बारेमा प्रकाश पार्नुभएको थियो ।