सिंगा र तातोपानीमा जनभेटघाटमा प्रचण्ड , समग्र विकासमा पहल गर्ने प्रतिवद्धता

  • २२ माघ २०८१, मंगलवार
  • 309 पटक पढिएको

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताउनुभएको छ ।बेनी नगरपालिका–४ सिंगा र तातोपानीमा मङगलवार जनघेटघाट गर्दै अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधार र पर्यटन विकासमा जोड दिइएको बताउनुभयो ।     “छ वर्षअघि पनि म यहाँको तातोपानी कुण्डमा परिवार सहित आएको थिए,” उहाँले भन्नुभयो “त्यसबेला यहाँहरुले उठाउनुभएको बेनी–दरवाङ–ढोरपाटन सडक, तातोपानी कुण्डको संरक्षण, प्रर्वद्धन र नदी नियन्त्रण सम्बन्धी केही योजनामा बजेट ब्यवस्थापन गरेर थालेका कामलाई निरन्तरता दिएका छौ ।”

पूर्व प्रधानमन्त्री प्रचण्डले दोस्रो कार्यकालमा प्रधानमन्त्री हुदाँ बेनी–दरवाङ, बेनी–जोमसोम–कोरला, बेनी बजार संरक्षण योजना शुरु गराएको स्मरण गर्दै पछिल्लो कार्यकालमा तातोपानीको बस्ति संरक्षणका लागि विनियोजन गरेको रु. दुई करोड बजेटबाट रु. दश करोडको बहुबर्षीय योजना कार्यान्वयन सुरु भएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडानका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले सिंगा र तातोपानीको विकास निर्माणलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।­

  1. साथै अध्यक्ष प्रचण्डले बेनी नगरपालिका–४ ठूलोखोला, सिंगा, बेनीमा सहिद परिवारसँग भेटघाट र साक्षात्कार गर्नुभएको छ । सो क्रममा अध्यक्ष प्रचण्डले सहिद परिवारको अवस्थाको बारेमा जानकारी लिनुका साथै सहिदहरुको योगदानको सधै उच्च मूल्याङ्कन हुने बताउनुभयो ।
    सिंगामा स्थानीय किसानहरुको गुनासो सुन्नुभएको थियो । कृषकहरुले कृषिलाई प्रबिधियुक्त, बजारमा सहज पहुँच र उत्पादनमा आधारित अनुदानको ब्यवस्था मिलाउन माग गरेका थिए । सो क्रममा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा कृषि अनुदानका लागि रु. सात अर्ब बजेट बिनियोजन गरेको बताउदै त्यसको कार्यान्वयनको अवस्थाका बारेमा सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।