सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार,१ कराेड ६० लाखकाे सुन्तला विक्रि (फाेटाे फिचर)

  • १४ माघ २०८१, सोमबार
  • कमल खत्री
  • 339 पटक पढिएको

म्याग्दी, १४ माघ । बैदेशिक रोजगारको सिलसिलामा १४ बर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै आत्मनिर्भर बन्नुभएको छ । मगरलाई गाउँमै आत्मनिर्भर बनाउने माध्ययम सुन्तलाखेती हो । बाह्र बर्षअघि आफ्नो करिब तीन रोपनी बारीमा सुन्तला रोप्नुभएका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन् ।

यस बर्ष बगैँचाबाटै १० लाखको सुन्तला विक्रि भएको मगरले बताउनुभयो । ‘‘पहिले घरपरिवारको आर्थिक स्रोतकै लागि ११ बर्ष कतार र तीन बर्ष दुबइमा काम गरेँ, यहाँ रोपेका सुन्तलाले उत्पादन दिन थालेपछि विदेश जान छोडेको हुँ, अहिले आफ्नै सुन्तलाबारीमा पसिना बगाउँदा आनन्द लाग्छ’’–मगरले भन्नुभयो ।


केहि बर्ष अघिसम्म दोसल्लेका अधिकाँश परिवारको आम्दानीको स्रोत बैदेशिक रोजगार थियो । तर अहिले गाउँ कृषिबाट आत्मनिर्भर बनेको छ । गाउँका अधिकाँश परिवारले व्यवसायिक रुपमा सुन्तला खेती विस्तार गरेका छन् । बयालिस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा यस बर्ष सुन्तलाबाट रु १ करोड ६० लाख बढी भित्रिएको छ । पोखरा र काठमाण्डौका व्यवसायिहरु बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ ।


दोसल्ले व्यवसायिक सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले अघिल्लो बर्ष गाउँबाट रु ८० लाखको सुन्तला विक्रि भएकोमा यस बर्ष दोब्बरले आम्दानी बढेको जानकारी दिनुभयो । ‘‘ पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्न समेत कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तलाखेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ, कृषिबाटै गाउँलेको जीवनस्तर बदलिएको छ’’– पाइजाले भन्नुभयो ।


उहाँका अनुसार, दोसल्लेमा १० हजार सुन्तलाका बोट रहेका छन् । वि.स. २०६८ सालमा पोखराबाट माटो परिक्षण विभागबाट विज्ञहरु ल्याएर माटो परिक्षण गरि सुन्तला खेतीमा लागेका दोसल्लेबासीले हरेक बर्ष सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् । परम्परागत रुपमा धान, मकै, कोदो, मटमास हुने खेतवारी सुन्तलाले ढाकिएको छ । नयाँ बोटहरुले समेत फल दिन सुरु गरेकाले अबको केहि बर्षमा यस गाउँमा सुन्तलाबाट बार्षिक तीन करोड बढी रकम भित्रने स्थानीयबासीको अनुमान छ ।

दोसल्लेका सबै घरमा सुन्तला खेती गरिएको छ । गाउँबाट बसाइँसराई रोकिएको छ । पहिले बेनी, पोखरा लगायतका ठाउँमा बसाइँसराई गरेकाहरुले समेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् । विभिन्न पेसा, व्यवसायमा लागेकाहरु समेत अहिले दोसल्लेमा सुन्तलाखेतीमा लामबद्ध भएका छन् । बेनीमा व्यवसाय गर्दै आउनुभएका विकास श्रेष्ठले समेत दोसल्लेमा व्यवसायिक सुन्तला खेती गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिकाका पूर्व उपाध्यक्ष केशमायाँ मगरले समेत सुन्तला खेतीलाई विस्तार गर्नुभएको छ ।


खेतीयोग्य जमिन सबैमा सुन्तला रोप्ने अभियान चलेको दोसल्ले व्यवसायिक सुन्तलाजात कृषक समूहले जनाएको छ । दोसल्लेमा विगत करिब १३ बर्षदेखि सुन्तलाखेती हुन थालेको थियो । सुन्तलाबाट राम्रो नगद आम्दानी हुन थालेपछि यहाँका किसानहरु परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेको स्थानीय मायादेवी गर्वुजाले बताउनुभयो । ‘‘अन्नबालीबाट गाउँमा नगद आम्दानी भएको थिएन, घरखर्च चलाउन मुस्कील थियो, सुन्तला खेतीले गाउँको मुहारै फेरिएको छ, सबै किसानको आर्थिक अबस्थामा सुधार भएको छ, घरघरमै रोजगारि सिर्जना भएको छ’’– गर्बुजाले भन्नुभयो ।


सुन्तला गाउँको रुपमा विकास भएको दोसल्लेका स्थानीय कामको खोजीमा भैतारिनुपर्ने बाध्यता हटेको छ । विहानदेखि बेलुका सम्म आफ्नै खेतवारीका सुन्तला बगैँचाको स्याहार गर्ने र आफ्नै घरपरिवारसंग गाउँमै बसेर सुन्तला फलाएर आयआर्जन हुन थालेपछि दोसल्लेबासीको मुहारमा खुसी र जीवनमा सन्तुष्टि छाएको छ । गाउँमा सुन्तला खेतीसंगै आलुलगायतका तरकारीखेती, बाख्रापालन, कुखुरापालन लगायतको व्यावसायिकताले यो गाउँ आत्मनिर्भर र समृद्ध बन्ने बाटोमा छ ।


सुन्तला खेती विस्तार , रोगकिराको उपचार, औजार उपकरण खरिद र सिंचाई विस्तारमा बालि संरक्षण विभाग पोखरा, कृषि ज्ञान केन्द्र, सुन्तला जोन र अन्नपूर्ण गाउँपालिकाबाट भएको सहयोगले सुन्तलाको व्यावसायिकखेतीमा हौँसला थपेको समूहका अध्यक्ष पाईजाले जानकारी दिनुभयो । जिल्लामा यस बर्ष रु ३३ करोड ४६ लाखको सुन्तला विक्रि भैसकेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिनुभयो । म्याग्दीमा आठ सय २० हेक्टर जमिनमा सुन्तलाखेती हुँदै आएकोमा चार सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । कृषकको बगैँचाबाटै प्रतिकिलो रु ६० देखि एक सय २० सम्मको मूल्यमा व्यापारीहरुले सुन्तला खरिद गरेका छन् ।  रासस            

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l