अन्नपूर्ण गाउँपालिकामा चार सय १ जना किशोरीहरुलाई एचपिभी खोप दिइने

  • १३ माघ २०८१, आईतवार
  • 183 पटक पढिएको

पोखरेबगर, १३ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा यही माघको २२ देखि २९ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ ।

पोखरेबगरमा आइतबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २९ गतेसम्म अन्नपूर्ण गाउँपालिकामा एचपिभी खोप अभियान सञ्चालन हुने जानकारी गराइएको हो ।

अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य संयोजक जनस्वास्थ्य निरीक्षक समुन्द्र बरुवालले आठ वटै वडामा कक्षा ६ देखि १० सम्मका तीन सय ९४ जना र विद्यालय नजाने सात जना १० देखि १४ वर्ष उमेरका किशोरीहरु गरी कुल चार सय १ जनालाई यो खोप लगाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

१६ वटा विद्यालय र आठ वटा स्वास्थ्य संस्थामा खोप केन्द्र बनाएर खोप लगाउन स्वास्थ्यकर्मी र महिला स्वास्थ्यकर्मीलाई परिचालन गरिने भएको छ । खोप अभियानको कार्यक्रम तालिका तयार पारिएको र वडा स्तरमा पनि अभिमुखीकरण गरिने बरुवालले बताउनुभयो ।

विश्वमा वार्षिक साढे पाँच लाख महिला प्रभावित हुने पाठेघरको मुखको क्यान्सरबाट नेपालमा प्रतिवर्ष एक हजार तीन सय १३ जनाले ज्यान गुमाउने गरेका छन् । असुरक्षित यौन सम्पर्क पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण हो ।

एचपिभी खोप लगाएपछि पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिने प्रादेशिक जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो । आठ वर्षअघि पहिचान भएको यो खोप विश्वका धेरै देशमा प्रभावकारी भएको बताउदै ठकुराठीले नेपालमा आगामी वर्षदेखि सरकारले एचपिभीलाई नियमित खोप कार्यक्रममा समावेश गरेको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजाले एचपिभी खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरुलाई निर्देशन दिनुभयो । उहाहरुले पाठेघरको मुखको क्यान्सरका बिरामी पहिचान गर्न वडाका स्वास्थ्य संस्थामा शिविर सञ्चालन गरिने बताउनुभयो ।

लक्षित किशोरीहरुलाई खोप लगाउन, खोपको विषयमा रहेको नकारात्मक धारणा तथा गलत प्रचार र भ्रम न्युनीकरण गरेर अभियान सफल बनाउनुपर्ने हिमाञ्चल मावि नागीका प्रअ रमन पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका प्रशासकीय अधिकृत भगवती खड्का कटुवालले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कडेल, वडा अध्यक्ष र विद्यालयका प्रअहरुको उपस्थिति रहेको थियो ।