माओवादी केन्द्रको म्याग्दी–पोखरा सम्पर्क मञ्चको सम्मेलन,अध्यक्षमा लोकनाथ भट्टराई

  • ११ माघ २०८१, शुक्रबार
  • 3 पटक पढिएको

पोखरा, ११ माघ । नेकपा (माओवादी केन्द्र)को म्याग्दी–पोखरा सम्पर्क मञ्चको पहिलो सम्मेलन शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
पोखरामा बसोबास गर्ने म्याग्दी घर भएका नेकपा माओवादी केन्द्रमा निकटहरु आवद्ध मञ्चको सम्मेलनबाट लोकनाथ भट्टराईको अध्यक्षतामा ५५ सदस्यीय कमिटि गठन भएको छ ।
उपाध्यक्षहरुमा ओमबहादुर पुन, बिष्णु बिक, क्या. लिलबहादुर पटेल, शोभा खड्का, निर्मल कटुवाल, सचिवमा बेलबहादुर नेपाली, सहसचिवमा मनिषा बरुवाल, जगबहादुर बिक, कोषाध्यक्षमा बेलबहादुर बिक र सहकोषाध्यक्षमा कुलबहादुर रसाईली चयन हुनुभएको छ ।

सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सहईञ्चार्ज हरिराज अधिकारी (कुमार)ले नेपालको विकास र सम्बृद्धिको बाधकको रुपमा रहेको भ्रष्ट्राचारको अन्त्य गर्ने मुद्दालाई माओवादीले प्राथमिकता दिएको बताउनुभयो ।

“प्रचण्ड नेतृत्वको सरकारले भ्रष्ट्राचारीहरुलाई कारबाही गर्न थालेपछि काँग्रेस र एमाले मिलेर भ्रष्ट्राचारीहरुको संरक्षण गर्न सरकार बनाए,” उहाँले भन्नुभयो “माओवादीले अहिले सरकार ध्यान दिएको छैन् । जनताको अधिकार स्थापित गर्ने र समस्या समाधान गर्न प्राथमिकता दिनुपर्छ ।”

नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले माओवादीले आगामी चुनावमा कुनै पनि दलसँग तालमेल नगरी प्रतिस्पर्धामा उत्रेको जनताले हेर्न चाहेको र त्यसको संकेत हालैको उपनिर्वाचनले देखाएको बताउनुभयो ।

केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले संविधान संसोधन गर्ने सर्तमा सरकार बनाएका काँग्रेस र एमाले गठबन्धनका सरकारका प्रधानमन्त्री केपी ओलीले २०८७ अघि संविधान संसोधन गर्न नसकिने बताउनुले उनिहरुले जनतालाई भ्रममा पारेर भुटानी शरणार्थी, सहकारी रकम अपचलन, ललिता निवास, निर्मला हत्याकाण्ड, स्काउटको जग्गा अतिक्रमणमा संलग्न आफ्ना मान्छे जोगाउने स्वार्थले मिलेको उनिहरुको गतिबिधिले प्रष्ट्याएको बताउनुभयो ।

माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैह्ै (अनिल) र सहसचिव टेकबहादुर बिकले माओवादीप्रति जनताको आकर्षण बढेपछि प्रतिस्पर्धी दलहरु आत्तिएर गैरराजनीतिक संस्कार देखाउदै व्यक्तिगत टिकाटिप्पणीमा उत्रिन थालेका बताउनुभयो ।

गण्डकी प्रदेशका पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले आफू सरकारमा हुँदा सुरु गरेका म्याग्दीका पूर्वाधारका योजनाहरुमा अहिलेको सरकारले बजेट कतौटी गरेर अन्याय गरेको बताउनुभयो । जनताले अवसर पायो भने कसले काम गर्न सक्छ भन्ने मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो ।

अर्को प्रदेश सांसद हरिबहादुर भण्डारीले आफूहरुले भित्र्याएका योजनाहरुलाई कार्यकालभित्रनै कार्यान्वयन सम्पन्न गराउन पहल भइरहेको बताउनुभयो । म्याग्दीमा गत वर्षको तुलनामा विकास बजेट घटाएर अहिलेको सरकारले विभेद र अन्याय गरेको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक सेरबहादुर केसी, बेनी नगर अध्यक्ष नगेन्द्र केसी, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । लोकनाथ भट्टराईको अध्यक्षता, बेलबहादुर बिकको सञ्चालन र ओमबहादुर पुनको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।