पशुपालन गर्न छाडेपछि बिक्न छाडे ठेका र मदानी

  • ८ माघ २०८१, मंगलवार
  • कमल खत्री
  • 1221 पटक पढिएको

म्याग्दी  ८ माघ । माघको सुरुवातदेखि नै म्याग्दी सदरमुकाम बेनीमा ठेका र मदानी विक्रि गर्न आउनुभएका टीका चुदारा निरास बन्नुभएको छ । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा मेला भर्न आउने  कृषक दर्शकहरुलाई लक्षित गरेर बागलुङबाट ठेका र मदानी लिएर आउनुभएका चुदाराले सोचे अनुरुप सामान विक्रि गर्न सक्नुभएको छैन् ।
गाउँबाट मेलामा आउने सर्वसाधारण मध्ये निकै थोरैले मात्र ठेका र मदानी खरिद गरेको चुदाराले बताउनुभयो । ‘‘ केहि बर्ष अघिसम्म ठेका र मदानीको माग पु¥याउनै कठिन हुने गथ्र्यो, मेलामा ल्याएका सामान केहि दिनमै सकिन्थ्यो, अहिले बेनीमा आएको एक साता भैसक्यो, ठेका र मदानीको विक्रि उत्तिधेरै भएको छैन’’ –उहाँले भन्नुभयो ।
गाउँमा गाइ भैँसी पाल्नेहरु घट्दै गएको र सिल्टे र प्लाष्टिकका ठेका तथा विद्युतिय मदानीको प्रयोग गर्ने प्रचलनले ठेका र मदानी बनाउने सीप र पेसा संकटमा पर्न थालेको छ । काठको ठेकामा गाईभैँसीको दुध, दही र मोही संकलन गरिन्छ भने ठेकीलाई दुध दुहुन प्रयोग गरिन्छ । पछिल्लो समय काठको ठेकाको विकल्पमा धातुबाट बनेका ठेकाहरु बजारमा आउन थालेपछि परम्परागत सिप र काठको उपयोग गरि ठेका बनाउने पेसा अंगालेका समुदायलाई समस्या भएको छ ।
गिठादार काठबाट परम्परागत सीप र औजारको प्रयोग गरेर बनाउने ठेकालाई तीन हजारदेखि रु १५ हजार सम्म मूल्य पर्ने गर्छ । बागलुङ नगरपालिका–१२ अमलाचौर बलेवामा घरेलु उद्योगबाट चुदाराले ठेका, मदानी, ठेकी, पुङ, पुचाई संगै सजावटको लागि साना ठेकीका सामान बनाउँदै आउनुभएको छ । अहिले ६० बर्ष पुग्नुभएका चुदाराले आफुले २० बर्षको उमेरदेखि नै व्यवसायिक रुपमा ठेका बनाउन थाल्नुभएको थियो ।


‘‘ बाउ बाजेले गरेको पेसालाई मैले पनि निरन्तरता दिएको हुँ, तर मौलिक सीपलाई प्रयोग गरेर ठेका बनाउने पेसालाई सरकारी तवरवाट कुनै सहयोग भएको छैन, गाउँमा अधिकाँशले यो पेसा छाडिसकेका छन, मेरा छोराहरुले पनि अन्य पेसा र रोजगार गर्न थालेका छन, हामी पछि गाउँमा यसरी ठेका बनाउने मानिस भेटिदैन’’–चुदाराले भन्नुभयो । चुदाराले म्याग्दीमा २०५० को दशकमा लाग्ने तत्कालिन माघे संक्रान्ति मेला तथा २०६० सालपछि लाग्दै आएको म्याग्दी महोत्सवमा काठबाट बनेका ठेकाठेकीका सामान विक्रि गर्न आउने गर्नुभएको छ ।     
कमल खत्री – – –

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l