भारत सरकारको सहयोगमा निर्मित क्याम्पस भवन र छात्रावास भवन हस्तान्तरण

  • २२ पुष २०८१, सोमबार
  • 201 पटक पढिएको

म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पस भवन र छात्रावास भवनको सोमबार हस्तान्तरण गरिएको छ । काठमाडौ स्थित भारतीय राजदुतावासका कन्सुलर अनिवासकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले शिलाखेल अनावरण गरेर भवन उद्घाटन तथा हस्तान्तरण गर्नुभएको हो ।

भारत सरकारको रु. दुई करोड ७९ लाख आर्थिक सहयोगमा १६ कोठे दुई वटा कक्षाकोठा भवन र आठ कोठे छात्रावास भवन निर्माण भएको थियो । भवन निर्माण भएर नियमित पठनपाठन हुदै आएपनि सोमबार औपचारिक रुपमा उद्घाटन र हस्तान्तरण भएको क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो ।
यस क्याम्पसमा २०६७ सालदेखि भवन निर्माण सुरु भएको थियो भने २०६९ सालमा निर्माण सम्पन्न भएको थियो । तत्कालिन क्याम्पस प्रमुख रामजीप्रसाद सुवेदीका अनुसार, भवन निर्माणको ठेक्का आह्वान गर्दा जिल्ला विकास समितिले भ्याट बराबरको रु ३९ लाख रकम व्यहोरेको छ । भारत सरकारकै सहयोगमा क्याम्पसमा कम्प्युटर ल्याबको फर्निचर समेत व्यवस्थापन गरिएको छ ।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले आठ सय बढी विद्यार्थी अध्ययरत क्याम्पसमा निर्माण भएको कक्षाकोठा भवन र छात्राबास भवनले पठनपाठनमा सहज भएको बताउनुभयो ।
समुदाय स्तरबाट वि.स. २०४८ मा स्थापना भएको म्याग्दी क्याम्पसमा कक्षा ११ र १२ देखि स्नातक तह हुँदै स्नातकोत्तर तहसम्मको पठनपाठन हुँदै आएको छ । तत्कालिन जिल्ला विकास समिति मार्फत भवन निर्माण भएको थियो । कार्यक्रममा राजदुतावासका कन्सुलर सिंहले भारत सरकारको सहयोगमा गण्डकी प्रदेशमा ७९ वटा सहित देशभर पाँच सय ८३ वटा परियोजना सञ्चालन भएका जानकारी दिनुभयो ।

नेपालको विकासको प्रमुख साझेदार राष्ट्र भारतबाट शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित परियोजनालाई प्राथमिकता दिएर परियोजना सञ्चालन भएको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दी क्याम्पसलाई पूर्वाधारसँगै प्रबिधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँहरुले भारतको अयोध्यामा राममन्दिर निर्माणका लागि मुर्ति बनाउन दुई वर्षअघि लगिएका शिलाको उत्खनन् स्थल कालिगण्डकी नदी किनारलाई देभशिला स्मारक स्तम्भ र स्नान स्थलको रुपमा विकास गर्न लागिएको जानकारी गराउदै त्यसका लागि भारत सरकारसँग सहयोगको अपेक्षा गर्नुभयो ।