ऐतिहासिक भगवती कोतमा नियमित पूजा सञ्चालन गर्न अक्षयकोष स्थापना
- १८ पुष २०८१, बिहीबार
- 289 पटक पढिएको
म्याग्दी , १८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका– २ मा अवस्थित ऐतिहासिक राखु भगवती कोत मन्दिरमा नियमित पूजापाठको प्रवन्ध मिलाउन अक्षयकोष स्थापना गरिएको छ । गत असोजमा आयोजित देवी भागवत महायज्ञबाट संकलन भएको रकमबाट मन्दिरको दैनिक र नियमित पूजाआजाका लागि अक्षयकोष बनाईएको हो ।
महायज्ञबाट संकलन भएको रु १ करोड १० लाख रकममध्ये रु १८ लाख ५० हजार खर्च भएको र बाँकी रकमलाई अक्षयकोषमा राखिएको भगवती कोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार, महायज्ञमा सहयोग रकम कबोल गर्नुभएका सहयोगदाताहरुमध्ये रु ८८ लाख नगद नै संकलन भएको र केहि सहयोगदाता प्रवासमा रहेकाले बोल रकम आउने क्रम जारी रहेको छ ।
सहयोगदाताको विवरण सार्वजनिक गर्ने तयारी भएकाले महायज्ञमा बागदान गर्नभएका सहयोगदाताहरुलाई बाँकी रहेको बोल रकम उपलब्ध गराउन मन्दिर व्यवस्थापन समितिले आह्वान गरेको छ । ‘‘मन्दिरमा नियमित पूजारी राखेर नियमित पूजाआजा गर्ने प्रवन्ध मिलाइसकेका छौँ, पहिले हामीले विहान र बेलुकी मात्रै मन्दिरमा धुपबत्ति बाल्ने गरेका थियौँ, अहिले विहानदेखि साँझ सम्म नै मन्दिर नियमित रुपमा खुल्ला रहन्छ, पूजारी मन्दिरमै रहने प्रवन्ध भएको छ’’– अध्यक्ष मल्लले भन्नुभयो ।
यस मन्दिरमा अहिले नियमित पूर्जाआजाका लागि पूजारी खेमराज भट्टराईलाई राखिएको छ । धार्मिक ऐतिहासिक स्थलको रुपमा परिचित भगवती कोत मन्दिरमा रहेका मठ मन्दिरहरुमा दैनिक धुपवत्ति, पूजापाठको प्रवन्ध मिलाएपछि यस क्षेत्रमा आउने धार्मिक पर्यटकहरुलाई समेत सहजता मिलेको छ । जिल्लाकै पुरानो कोत मन्दिरको रुपमा चिनिएको भगवती कात मन्दिरको तीन बर्ष अघि पुरातत्व विभागले मौलिकता नमासिने गरि रु ६२ लाख लागतमा पुननिर्माण गरेको थियो ।
१७ औँ शताब्दीको विरासतसँग इतिहास जोडिएको भगवती कोत मन्दिर तत्कालिन राखु भगवती र राखु पिप्लेकोे साझा कोतको रुपमा चिनिदै आएको छ । १५ आँै सताब्दीको अन्त्य र १६ औँ सताब्दीको सुरुवातको समयमा पर्वतका राजा प्रतापिनारायण मल्लले पाल्पाका राजा मुकुन्द शेनको छोरी विवाह गरि ल्याउँदा माझका देवीलाई बागलुङ चौरमा देवीको स्थापना गरेका कारण सोही कालखण्डमा राखुमा भगवतीको मन्दिर स्थापना भएको मान्यता छ ।