म्याग्दीमा आठ सय रोपनीमा हिउँदे आलुखेती विस्तार

  • ५ पुष २०८१, शुक्रबार
  • 69 पटक पढिएको

म्याग्दी, ५ पुस । म्याग्दीमा आठ सय रोपनी बढी जमिनमा हिउँदे आलुखेती विस्तार गरिएको छ । नगदे बालीको रुपमा जिल्लामा रहेका एक नगरपालिका र पाँच वटै गाउँपालिकामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा खायन आलु प्रवद्र्धन कार्यक्रम मार्फत किसानहरुलाई अनुदान उपलब्ध गराएपछि जिल्लामा हिउँदे आलुखेती विस्तार भएको हो ।
खायन आलु प्रवद्र्धन कार्यक्रम अन्तर्गत विभिन्न २१ वटा कृषक समूह तथा सहकारीहरुले आठ सय पचास रोपनीमा व्यावसायिक रुपमा आलुखेती लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार, यस कार्यक्रम मार्फत करिब तीन सय रोपनीमा बर्खे आलुखेती गर्ने तयारी गरिएको छ ।
गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दी जिल्लामा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आर्थिक वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको थियो। उक्त बजेटबाट कार्यालयले कार्यक्रममा समावेश हुनआएका किसान समूह र सहकारीलाई आलुको बीउ, यान्त्रिक उपकरण खरिद, सिँचाई सुविधा विस्तार र बजारीकरणमा अनुदान दिएको कार्यालयले जनाएको छ।
खायन आलु प्रवद्र्धन कार्यक्रमको लागि छनौटमा परेका कृषक समूह र सहकारीमा आबद्ध किसानले आलुको विउ र सिंचाईतर्फ ७५ प्रतिशत तथा यान्त्रिकरण र बजारीकरणतर्फ ५०प्रतिशत अनुदान पाएका छन् । यस बर्ष जिल्लामा एक हजार दुई सय रोपनी जमिनमा आलुखेती विस्तार गर्ने लक्ष्य लिईएको छ ।
मन्त्रालयबाट प्राप्त बजेटमध्ये रु एक करोड रकम किसानलाई अनुदान वितरणमा खर्च हुने र २० लाख रकम किसानलाई तालिम, अभिमुखीकरण, निरिक्षण, पुस्तक प्रकाशन, प्राविधिक सहयोगको क्षेत्रमा परिचालन हुने कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गंगा लामिछानेले जानकारी दिनुभयो ।

 

जिल्लामा खेती गरिने प्रमुख बालीमध्येमा पर्ने आलुखेतीबाट जिल्लालाई आत्मनिर्भर बनाउँदै स्थानीयको आयआर्जनमा सुधार ल्याउन आलुखेतीले सहयोग पुग्ने किसानहरुको भनाई छ । जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ। (तस्बिर उपलब्ध छ)
कमल खत्री – – –