बेनीमा २२ औं जेसीज कप फुटबल प्रतियोगिता सुरु, साविक बिजेता र उपबिजेताकाे सुखद सुरूवात
- १८ मंसिर २०८१, मंगलवार
- 501 पटक पढिएको
म्याग्दी, १८ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा २२ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता सुरु भएको छ । जिल्लामा विद्यालय तहमा लोकप्रिय मानिने अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको २२ औँ संस्करण आगामी शनिवार सम्म सञ्चालन हुने छ । प्रतियोगितामा जिल्लाका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा साविक बिजेता न्यू वेष्ट पोइन्ट आवासीय मावि र उपबिजेता माउण्ट एभरेष्ट आवासीय माविले बिजयी सुरुआत गरेका छन् । उद्घाटन खेलमा वेष्ट पोइन्टले १ का विरुद्ध ५ गोल गर्दै बालमन्दिर मावि र माउण्ट एभरेष्टले शुन्यका विरुद्ध ३ गोल गर्दै केबी एकेडेमी दरबाङलाई पराजित गरेका हुन् ।
त्यसैगरि पहिलो दिन भएको खेलमा सरस्वती आधारभूत विद्यालयलाई शुन्यका विरुद्ध ७ गोल गर्दै लिटल गार्डेन एकेडेमी र भानु माविलाई १ का विरुद्ध ४ गोल गर्दै जनप्रिय मावि दरबाङ दोस्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगितामा बिजेतालाई नगद रु ५२ हजार २२२ को साथमा रनिङशिल्ड, ट्रफि, मेडल, प्रमाणपत्रद्धारा पुरस्कृत गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार उप–बिजेता विद्यालयलाई ट्रफि,मेडल,प्रमाणपत्र र नगद रु.३२ हजार,२३२ पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिड्फिल्डर , राईजिङ्ग प्लेयर, उत्कृष्ट कोचलाई जनही नगद रु.२ हजार ५०० को साथमा अवार्डद्धारा पुरस्कृत गरिनेछ ।
त्यसैगरि अनुशासित टिमलाई ट्रफि,प्रमाणपत्र र नगद रु.५ हजार तथा सेमि फाईनलिष्ट २ टिम लाई नगद रु.५ हजार पुरस्कार र प्रत्येक खेल मा म्यान अफ द म्याच घोषित गरि सम्मान गरिने म्याग्दी जेसीजले जनाएको छ ।