अन्नपूर्णमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

  • ९ मंसिर २०८१, आईतवार
  • 273 पटक पढिएको

पोखरेबगर, ९ मङसिर ः पोखरेबगरमा आइतबारदेखि अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता छ । प्रतियोगिता र कालीगण्डकी युवा क्लवको खेलमैदानको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्नुभयो ।

अध्यक्ष पुनले प्रदेश र राष्ट्रिय प्रतियोगितामा पुगेर स्वर्ण, कास्य र रजत पदक जित्ने अन्नपूर्णका खेलाडीलाई जनही रु. १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार दिने घोषणा गर्नुभयो । यसैगरी पोखरेबगरमा कालीगण्डकी युवा क्लवले निर्माण गरेको खेलमैदानको स्टेज लगायत थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले सघाउने प्रतिवद्धता जनाउनुभयो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ५० हजार पुरस्कार प्रदान गरिने अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।

दृतीय र तृतीय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश रु. ४० र ३० हजार प्रदान गरिने जनाइएको छ । एथलेटिक्स, कवड्डी र भलिबल बिधाका ३० वटा खेलमा तीन सय जना भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको पहिलो दिन भएको एक हजार पाँच सय मिटर दौडमा मुक्तिमार्ग मावि घारले छात्र÷छात्रामा स्वर्ण पदक जितेको छ । छात्रतर्फ शिख माविले कास्य र हिमाञ्चल माविले रजत तथा छात्रातर्फ ज्ञानप्रकाश माविले कास्य र शिख माविले रजत पदक जितेका छन् । एथलेटिक्स र कवड्डी कालीगण्डकी युवा क्लवको खेलमैदान तथा छात्रा÷छात्र भलिबल पोखरेबगर आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन गरिएको छ ।

उद्घाटन कार्यक्रममा भएको मार्च पासमा सर्वोदय मावि भुरुङ्ग– तातोपानी प्रथम, प्रभा मावि दोस्रो र हिमाञ्चल मावि तेस्रो भएका थिए । अन्नपूर्ण गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीको अध्यक्षता, उपाध्यक्ष दिवा तिलिजा पुनको स्वागत र सर्वोदय माविका प्रअ गोविन्द थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, सर्वोदय मावि व्यवस्थापन समितिका अध्यक्ष अनिल हिराचन, हिमाञ्चल माविका प्रअ रमन पुन, कालीगण्डकी युवा क्लवका अध्यक्ष रामकृष्ण खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन अघि पोखरेबगरमा ¥याली गरिएको थियो ।