शुन्यबाट उठेकाहरुको कथा ‘ गाउँमा चम्किएका युवा व्यवसायि केशब छन्त्याल

  • २२ आश्विन २०८१, मंगलवार
  • 821 पटक पढिएको

देवान छन्त्याल । रघुगंगा गाउँपालिका–८ खरिबोटका केशब छन्त्याल व्यवसाय, सामाजिक सेवा र राजनीतिमा समेत सक्रिय युवाको रुपमा परिचित हुनुहुन्छ । दुलेओढारमा अहिले सफल व्यवसायिको रुपमा पहिचान बनाउनुभएका छन्त्यालको विगत भने संघर्षमय तवरले बितेका थिए । कक्षा १० सम्मको अध्ययन गर्नुभएका छन्त्यालले बिगतमा घरायसी काममा मात्रै होइन व्यवसायिक करियर बनाउन समेत निकै मेहनत गर्नुपरेको थियो ।
गाउँमा सडक सञ्जालको पहुँच नहुँदा खच्चड मार्फत ढुवानी सेवा बाट व्यवसायिक यात्रामा लम्कनुभएका छन्त्यालको अहिले दुलेओढारमा यस क्षेत्रकै ठूलो दैनिक उपभोग्य सामाग्रीको पसल सञ्चालनमा छ । लामो समय खच्चडसंगसंगै उकाली ओराली गर्नुभएका छन्त्यालले गाउँमा सडकको पहुँच पुगेपछि ट्याक्टर र पछि बोलेरोबाट खाद्यान्न ढुवानी संगै यात्रुहरुलाई समेत गन्तव्यमा पु¥याउने सार्वजनिक यातायात सेवा समेत दिँदै आउनुभएको छ ।

आफ्नो बुबाले खरिबोटमा सुरु गरेको व्यवसायलाई छन्त्यालले निरन्तरता मात्रै दिनुभएको छैन, दुलेओढारमा व्यवस्थित तवरले व्यवसायलाई विस्तार गर्नुभएको छ । वि.स. २०७६ सालमा बुबाको निधन भएपछि उहाँले बुबाले नै सुरुवात गरेको व्यवसायलाई निरन्तरता दिनुभएको हो । उहाँको पसलमा दिनहुँ ग्राहकहरुको भिड नै लाग्ने गरेको छ । उहाँले सञ्चालन गरेको व्यवसायबाट चार जनाले प्रत्येक्ष रोजगारी समेत पाएका छन् । मेहनत र साहस गरेमा नेपालमै पनि आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बन्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ केशब छन्त्याल ।

आफ्नो व्यवसायमा ५० लाख बढीको लगानी गर्नुभएका छन्त्याल व्यवसायसंगसंगै समाजसेवा र राजनीतिमा समेत सक्रिय हुनुहुन्छ । ३५ बर्षका छन्त्याल नेपाली काँग्रेस रघुगंगा गाउँपालिका समितिको उपाध्यक्ष समेत हुनुहुन्छ । छन्त्यालको श्रीमती, दुई छोरा र १ छोरी हुनुहुन्छ ।