नयाँ स्वरुपमा ल्याइएको ‘बेनीको बजार‘’ गीतले चर्चा बटुल्दै (भिडिओ)
- ११ आश्विन २०८१, शुक्रबार
- 846 पटक पढिएको
म्याग्दी सदरमुकाम बेनीलाई चिनाउने ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतले पुनः चर्च बटुलेको छ । नयाँ स्वरूपमा गीत र म्युजिक भिडियो पुननिर्माण गरेर युट्युबबाट सार्वजनिक गरिएको म्युजिक भिडियाे छोटो समयमै धेरैले हेर्ने भिडियो मध्येमा पर्न थालेको छ । सार्वजनिक भएको १० दिनमा बेनीको बजार गीत युट्युब टेन्डिङको २० औँ शिर्ष स्थानमा रहेको छ ।
शुक्रवारसम्म यस गीतको म्युजिक भिडियो युट्युबमा ३ लाख ३२ हजार बढीले हेरिसकेका छन् । बेनीको बजार गीतको म्युजिक भिडियोलाई नयाँ र पुरानो दुबै परिवेशलाई समेटीएकाले धेरै दर्शकबाट सकरात्मक प्रतिक्रिया आएको म्युजिक भिडियोका निर्देशक डीके चोचाङ्गी पुनले बताउनुभयो । पुननिर्मित गीतमा चर्चित गायक रामचन्द्र काफ्ले र समीक्षा अधिकारीको स्वर रहेको छ। यसको शब्द र संगीत टिकाबहादुर श्रेष्ठ र प्रेम बरालको हो। म्याग्दी जेसीजले निर्माण गरेको नयाँ भर्सनको बेनीको बजार गीतको म्युजिक भिडिओमा गम्भीर विष्ट र अञ्जली अधिकारीले अभिनय गर्नुभएको छ ।
२०१८ सालमा स्व.टीकाबहादुर श्रेष्ठले रचना गरेर टीकाबहादुर श्रेष्ठ र मना छन्त्यालको स्वरमा रेडियो नेपालमा रेकर्ड भई लोकप्रिय बनेको यो गीतले बेनीबजारलाई देश र विदेशमा चिनाएको थियो। टिकाबहादुर श्रेष्ठको रचना रहेको यो गीत श्रेष्ठ र उहाँकी श्रीमती मन छन्त्यालले पहिलोपटक गाउनुभएको थियो । २०३१ सालमा रेडियो नेपालमा मन छन्त्यालको स्वरमा रेकर्ड भएपछि गीतले सर्वत्र चर्चा पाएको थियो। पछि राजु परियार र बीमाकुमारी दुराको स्वरमा समेत रेकर्ड गरेर ल्याइएको थियो।