गुञ्जिन थाले तिजका भाका

  • १९ भाद्र २०८१, बुधबार
  • 419 पटक पढिएको

 

छोरी : ‘‘पराइ घरमा दुख पाएकी छोरीलाई के लाउँछ,
आमा तिम्रो सम्झनाले मुटु जलाउँछ ।’’
आमा : ‘‘धेरै अत्यास लाग्यो भने फोनमा होला बोलनी
अहिलेको तिजमा त छोरी आउनी होलानी’’
मंगला गाउँपालिका– १ पूर्णगाउँमा आयोजित तिज विशेष कार्यक्रममा आमा छोरीको सन्दर्भमा स्थानीयले गाएका हुन यि भाका । महिलाहरुको महान पर्व तिजको अवसरमा स्थानीय लाल युवा क्लब, भगवती र शिवालय आमा समूहले संयुक्त रुपमा महिला दिदीबहिनीहरुका लागि दर खुवाउने कार्यक्रममा विवाह गरेर पराइ घरमा गएकी छोरी र माइतमा तिजमा छोरीको पर्खाइमा रहनुभएकी आमा बिचको भालाकुसारीलाई गीत मार्फत प्रस्तुत गरेका थिए ।

रातै सारिमा सजिएका महिलाहरु कोहि गाउने त कोही नाच्ने लहरमा थिए । गाउन र नाच्न नमान्नेहरु तालि बजाएर साथ दिइरहेका थिए । गाउँका अगुवा पुरुषहरु आमा छोरीको दोहारीमा मादल बजाएर साथ दिइरहेको दृष्यले नेपाली मौलिक तिज पर्व मनाउने पुरानौ चलनको आभास दिएको थियो । दुई आमा समूहबिचमा भएको दोहोरी प्रस्तुतीले कार्यक्रममा सहभागी भएका सबैको मन जितेको लाल युवा क्लबका पूर्व अध्यक्ष समेत रहनुभएका स्थानीय राष्ट्रिय जनजागृति माविका प्रअ टेक राम्जालीले बताउनुभयो ।

‘‘ कार्यक्रममा पुरानो भाकामा दिदी बहिनीहरुले दोहोरी गाउनु भयो, दोहोरीमा महिलाका पिर, वेदना र भावनाहरु पोखिए, नाच्दा नाच्दै कतिपयको आँखा पनि रसाए, हामीले पनि साँच्चीकै तीज विशेष कार्यक्रम भएको महशुस ग¥यौ’’– उहाँले भन्नुभयो । पछिल्लो समय तिज विशेष कार्यक्रमहरु खर्चिलो र भड्किलो बनिरहेको सन्दर्भमा तिजलाई सामूहिक र मौलिक तरिकाले बनाउने वातावरण सिर्जना गर्न कार्यक्रमले सघाएको राम्जालीको भनाई छ ।
पछिल्लो समय तिज पर्वमा भित्रिएको विकृति र विसंगीतलाई हटाउन म्याग्दीमा मौलिक र रचनात्मक तीज विशेष ‘तिज गीत प्रतियोगिता’ कार्यक्रमहरु आयोजना हुन थालेका छन् । अखिल नेपाल महिला संघ म्याग्दीले मंगलवार बेनीमा आयोजना गरेको खुल्ला तिज गीत प्रतियोगितामा ३१ टिमले सहभागीता जनाएका थिए । प्रतियोगितामा सहभागी महिलाहरुले महिला सशक्तीकरणको बिषयमा आफ्ना प्रस्तुती राखेका थिए । म्याग्दी लगायतका क्षेत्रमा गुञ्जने पुराना भाकाहरुमा समेत सहभागीहरुले तिज गीत प्रस्तुत गर्दा कार्यक्रम संगीतमय बनेको थियो ।
प्रतियोगितामा मंगला गाउँपालिका–१, कुहुँकी हिरा किसान प्रथम, क्षत्री समाज म्याग्दी द्वितीय, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दी तृतीय, गणेशथान आमा समूह जलजला–७, मिलनचोक पर्वत र जामुनाखर्क मावि अर्थुङ्गेकी गरिमा परियार सान्त्वना हुनुभएको छ । विजयी टिमहरुलाई नगद क्रमशः दशहजार, सातहजार, पाँचहजार र तीनतीन हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको अनेमसंघ म्याग्दीका सचिव देवकुमारी पुनले जानकारी दिनुभयो ।

तिज पर्वको अवसरमा आयोजना गरिएका तीज गीत प्रतियोगिताहरुले पुराना र मौलिक भाकाहरुको संरक्षण गर्न सघाउ पु¥याएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो । कार्यक्रममा निर्णायकको भूमिका समेत निभानुभएका जिसीले तिज गीत प्रतियोगिताले जिल्लामा रहेका पुराना र मौलिक भाकाहरुको संरक्षण गर्न सघाउनुका साथै साँगेतिक उत्सवमा पर्व मनाउने वातावरण सिर्जना गरेको बताउनुभयो ।

‘‘पहिले ठाउँ ठाउँमा तिज मेला लाग्ने गथ्र्यो, ति मेलामा तिज गीत प्रतियोगिताहरु आयोजना हुने गर्थे, तर आजभोली मेलामा खेलकुद गतिविधि र सगीतको ट्याकमा गीत गाउने प्रचलन बढी छ’’– उहाँले भन्नुभयो । तिजको अवसरमा जिल्लाको विभिन्न ठाउँमा परम्परागत मेलाहरु लाग्दै आएको छ । तर ती मेलाहरुमा परम्परागत रुपमा हुने महिलाहरुको प्रत्येक्ष तीज गीत प्रतियोगिताहरु भने हुन छाडेको छ ।