बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन

  • १५ भाद्र २०८१, शनिबार
  • 348 पटक पढिएको

म्याग्दी  १५ भदौ । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको साँस्कृतिक पहिचान बनेको एक महिने बर्षे नाच अन्तर्गत शुक्रवार जोगी नाच देखाइएको हो । नेवार समुदायको साझा संस्था नेपाल भाषा मंका : खल : अन्तरगतको युवाहरुको समूह ल्याम्ह : पुचः को नेतृत्वमा बेनी बजार र मंगलाघाट बजारका सडकमा शुक्रवार दिनभर जोगीनाच प्रदर्शन गरिएको थियो ।
करिब ३० जना बढी युवायुवति र बालकहरु सहभागी भएर जोगी, शिब, पार्वतीको भेषमा सजिएर परम्परागत जोगी नाच देखाइएको जोगी नाचका संयोजक सुशीलकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार, नयाँ कलाकारहरुलाई तालिम दिएर जोगी नाचमा सहभागी गराइएको थियो । जोगीको भेषमा युवाहरुको समूह नाचगान सहित बजारमा निस्कीएपछि दिनभर बजारबासी र सर्वसाधारणले रुचिका साथ नाच अवलोकन गरेका थिए ।
बजारमा जोगी नाच प्रदर्शन गर्नुअघि लक्ष्मीनारायण मन्दिर परिसरमा महादेव र पार्वतीको पूजा गरी उनीहरूलाई खुसी पार्न ताण्डव नृत्यसहित युवाहरुलाई जोगी बनाएर बजारमा नचाउने प्रचलन रहेको नेपाल भाषा मंकाःखलःका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार, बर्षेनाचमा जोगी नाचले निरन्तरता पाउने गरेको छ । बर्षे नाच बेनीका मौलिक र साँस्कृतिक चिनारी बनेको छ ।
यस नाचमा नृत्यका साथै घरघरमा पुगेर भिक्षा स्वरुप सहयोग जुटाउने चलन समेत रहेको छ । भिक्षाको रुपमा संकलन हुने रकमलाई बर्षेनाचको व्यवस्थापन तथा संरक्षणमा खर्च गरिने गरिएको छ । बेनी बजारमा बस्ती बसेदेखी नै देखाउन थालिएको परम्परागत बर्षेनाचलाई नेवार समुदायको अगुवाईमा निरन्तरता दिदै आइएको छ । यस बर्ष लाखे नाच, घोडा नाच, जोगी नाच, नागानागिनी नाच सहित श्रीकृष्ण रथयात्रा लगायतका कार्यक्रम समावेश गरिएको ल्याम्ह ः पुचः का अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो ।
बर्षे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबै जसो नाचमा परम्परागत समाजको चित्रण गर्ने चलन छ । खास गरि लाखे नाचमा परापुर्व कालमा समाजमा दुख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । घण्टाकर्ण चर्तुदर्शी देखी सुरु भएको बर्षे नाच अन्र्तगत तिजको दिनमा दानविय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच समापन गरिन्छ ।