मिना परियार हत्या प्रकरणः डिएनए परिक्षणको लागि आरोपीतको नमुना प्रयोगशालामा पठाइयो

  • १४ भाद्र २०८१, शुक्रबार
  • 697 पटक पढिएको

म्याग्दी १४ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी १९ बर्षिया मिना परियारको हत्या प्रकरणका मुख्य आरोपीको डिएनए परिक्षणको लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । गत पुस १६ गते घरबाटै वेपत्ता भएकी मिनाको साउन २७ गते घतानकै आँखखेत कालीमुलको जंगलमा हत्या गरेर गाडेको अबस्थामा सडेगलेको अवस्थामा शब फेला परेको थियो ।

शबसंगै रहेको सिक्री, स्विटर, चप्पल लगायतका हुलियाका आधारमा घरपरिवारले उक्त शब मिनाकै भएको सनाखत गरेका थिए । हत्यामा संलग्न भनिएका मिनाका प्रेमी राम खत्रीले मिना वेपत्ता भएको रातीसम्म आफुहरुबिच भेट भएको स्विकार गरेपनि प्रहरी अनुसंधान र सरकारी वकिलको बयानमा हत्या आरोप इन्कार गरेपछि प्रहरीले डिएनए परिक्षणको लागि पठाएको हो ।

घटनालाई प्राविधिक पक्षबाट अध्ययन गर्न भेटिएको शब, मृतक किशोरीको पेटभित्र रहेको भ्रुण र राम खत्रीको नमुना लिएर डिएनए परिक्षणको लागि प्रयोगशालामा पु¥याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार, सडेगलेको शबलाई परिवारले सनाखत गरेपनि थप पुष्ट्याइको लागि मृतक परियारकी आमा फुलमायाको समेत डिएनए परिक्षणको लागि पठाइएको छ ।

मिनाको वेपत्ता र हत्या प्रकरणको कारक अन्तरजातिय प्रेम सम्वन्ध देखिएको छ । मिना र छिमेकी विवाहित पुरुष राम खत्री बिच प्रेम सम्वन्ध हुँदै मिना करिब ६ महिनाको गर्भवती भएको उनीहरु दुई जनाबिचको म्यासेन्जर कुराकानी भएको प्रमाण फेला परेकोे थियो । पोखरामा गरिएको शब परिक्षणमा समेत मृतकको पेटभित्र करिब ६ महिनाकै भ्रुण रहेको पत्ता लागेको थियो । वेपत्ता बनाएको कसुरमा जिल्ला अदालतको थुनछेक बहसबाट पुर्पक्षका लागि कारागार चलान भएका खत्री सहित उनका घरपरिवारका सदस्य र आफन्त समेत गरी पाँच जनालाई शब भेटिएपछि अत्या आरोपमा किटानी जाहेरी परेको थियो ।

पीडित परिवारबाट आएको किटानी जाहेरी बमोजिम सबैलाई नियन्त्रणमा लिएर आबश्यक अनुसंधान भैरहेको प्रहरी निरिक्षक रायमाझीले बताउनुभयो । ‘‘घटनालाई गहिरो अनुसंधान भैरहेको छ, कारागारमा रहेका खत्री र अन्य आरोपीहरुलाई समेत बयान लिने काम भएको छ, घटनामा भेटिएका र पत्ता लागेका प्रमाणहरुका आधारमा समेत निष्कर्ष निकाल्दै छौँ’’– प्रहरी निरिक्षक रायमाझीले भन्नुभयो ।