मिना परियारको न्यायको लागि जनप्रदर्शनमा उर्लियो मानव सागर (तस्बिर/भिडियो)
- १३ भाद्र २०८१, बिहीबार
- 355 पटक पढिएको
म्याग्दी १३ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी १९ बर्षिया मिना परियारको हत्या प्रकरणमा दोषिमाथि कारबाहीको ग्यारेन्टी गर्न माग गर्दै बेनीमा जनप्रदर्शन भएको छ । घटनामा संलग्नमाथि कारबाहीको सुनिश्चित नभएको, अनुसंधानमा ढिलाइ र लापरबाही गरेको भन्दै पीडितलाई न्यायको माग गर्दै बेनीमा पर्दशन भएको हो ।
विहिवार संयुक्त दलित राजनीतिक संघर्ष समितिको अगुवाईमा बेनीमा परियारलाई न्याय र दोषिमाथि कडा कारबाहीको माग गर्दै बृहत प्रदर्शन भएको छ । प्रदर्शनमा दलित अधिकारकर्मी, राजनीतिक दलका भातृ संगठन, अगुवादेखि महिला, दलित, युवा र अन्य समुदायको समेत सहभागीता रहेको थियो । प्रर्दशनमा सहभागी हुन गाउँ गाउँबाट महिलाहरु पिठ्युमा बालबच्चा बोकेर समेत आएका थिए ।
वृहत प्रदर्शन सहित बेनीको विरेन्द्रचोकमा विरोध सभा गरिएको थियो । सभामा बोल्ने दलित अधिकारकर्मीहरुले प्रहरीले घटनालाई गम्भिरताका साथ नलिएको कारण हत्यारा पत्ता लाग्न र घटनाको वास्तविकता बाहिर आउन ढिलाइ भएको बताउँदै किटानी जाहेरी दिएका व्यक्तिहरुमाथि समेत गहिरो अनुसंधान नभएको भन्दै ध्यानकर्षण गराएका थिए । सभामा बोल्दै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले घटनामा भेटिएका, देखिएका र खोजी गरि पत्ता लगाउनुपर्ने प्रमाणहरुको यथोचित अनुसंधान गरेर घटनामा दोषिमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिएका थिए ।
गत पुस १६ गते घरबाटै वेपत्ता भएकी मिनाको साउन २७ गते घतानकै आँखखेत कालीमुलको जंगलमा हत्या गरेर गाडेको अबस्थामा सडेगलेको अवस्थामा शब फेला परेको थियो । शबसंगै रहेको सिक्री, स्विटर, चप्पल लगायतका हुलियाका आधारमा घरपरिवारले उक्त शब मिनाकै भएको सनाखत गरेका थिए ।
मिनाको वेपत्ता र हत्या प्रकरणको कारक अन्तरजातिय प्रेम सम्वन्ध देखिएको छ । मिना र छिमेकी विवाहित पुरुष राम खत्री बिच प्रेम सम्वन्ध हुँदै मिना करिब ६ महिनाको गर्भवती भएको उनीहरु दुई जनाबिचको म्यासेन्जर कुराकानी भएको प्रमाण फेला परेकोे थियो । पोखरामा गरिएको शब परिक्षणमा समेत मृतकको पेटभित्र करिब ६ महिनाकै भ्रुण रहेको पत्ता लागेको थियो । वेपत्ता बनाएको कसुरमा जिल्ला अदालतको थुनछेक बहसबाट पुर्पक्षका लागि कारागार चलान भएका खत्री सहित उनका घरपरिवारका सदस्य र आफन्त समेत गरी पाँच जनालाई शब भेटिएपछि अत्या आरोपमा किटानी जाहेरी परेको थियो ।
पीडित परिवारबाट आएको किटानी जाहेरी बमोजिम सबैलाई नियन्त्रणमा लिएर आबश्यक अनुसंधान भैरहेको प्रहरी निरिक्षक राजन रायमाझीले बताउनुभयो । ‘‘घटनालाई गहिरो अनुसंधान भैरहेको छ, कारागारमा रहेका खत्री र अन्य आरोपीहरुलाई समेत बयान लिने काम भएको छ, घटनामा भेटिएका र पत्ता लागेका प्रमाणहरुका आधारमा समेत निष्कर्ष निकाल्दै छौँ’’– प्रहरी निरिक्षक रायमाझीले भन्नुभयो ।