पदमार्गमा बेपत्ता दुईमध्ये एक पर्यटक खोलामा मृत भेटिए
- ११ भाद्र २०८१, मंगलवार
- 889 पटक पढिएको
अन्नपूर्ण पदमार्गमा आइतबारदेखि बेपत्ता दुई स्पेनिस पर्यटकमध्ये मंगलबार एक पुरुषको शव फेला परेको छ। महिला पर्यटकको अवस्था अझै अज्ञात छ। कास्कीको अन्नपूर्ण गाउँपालिका- ९ तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा आइतबार स्पेनी नागरिक वर्ष ३७ का इरिक सोलर कासानोभास र वर्ष ३२ की मर्स मोलास जुन्का बेपत्ता भएका थिए ।
आइतबार साझ ६ बजेतिर तिखेढुंगास्थित मौजाखोलानजिकै रहेको गोरेटो बाटोमा वेवारिसे अवस्थामा दुईवटा झोला भेटिएको थियो।
सुचना पाएपछि बिरेठाटीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरीले सो झोला बिरेठाटी ल्याएको थियो । त्यसपछि वडा प्रहरी कार्यालय बगरबाट गएको टोली, अन्नपुर्ण ८ का वडा अध्यक्ष बिजय गुरुङ र एक्यापकाका प्रतिनिधी यमबहादुर गुरुङको रोहबरमा झोला खोली हेर्दा दुई जनाको पासपोर्ट, पोको कम्पनीको (स्क्रिन टच) मोवाईल एक थान, पासपोर्ट साईजको फोटो, विभिन्न कपडा, लगायतका सामानहरु दुईवटा झोलामा भेटिएका थिए ।
दुई पर्यटक बेपत्ता भएपछि बिरेठाँटीबाट पर्यटक प्रहरीसमेत सातजना र सशस्त्र प्रहरी नंम्बर २४ हेडक्वाटर मालेपाटनबाट सातजनाको टोली खटिई खोजतलास सुरु गरेको थियो ।
सोही क्रममा बेपत्ता दुईमध्ये कासानोभासको शव उनीहरु बेपत्ता भएको स्थानभन्दा करिव एक हजार पाँच सय मिटर तल अन्नपुर्ण ९ स्थित भुरुङ्दी खोलामा फेला परेको अन्नपुर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए ।
अर्का एकजनाको खोजतलासको काम भै रहेको गुरुङले बताए । ६ भदौमा नेपाल आएका उनीहरु विरेठाँटीस्थित पर्यटक चेकपोष्टमा आईतबार अर्थात ९ भदौका दिन विहान १० बजेर २१ मिनेटमा नाम दर्ता गराएर कास्कीको उल्लेरी हुँदै म्याग्दीको घोरेपानी जाने भनी हिडेका थिए ।
सोमबार खोलाको छेउछाउमा खोजतलास गर्ने क्रममा टोपी एक थान, टिसर्ट एका थान, आल्मुनियमको स्टिक (लौरी) एक थान, जिपिएर एक थान र झरनाको फेदीमा दुई थान ट्रेकिङ स्टिकसमेत फेला परेको थियो ।