मुस्ताङको थासाङमा पुनः हिमपहिरो, बोक्सीखोला थुनियो
- ११ भाद्र २०८१, मंगलवार
- 755 पटक पढिएको
मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङको शिरमा पर्ने धौलागिरी र मानापाथि हिमशृङ्खलामा पुनः हिमपहिरो गएको छ । मंगलवार साँझ ५ः४५ बजे गएको हिमपहिरोले बोक्सीखोला थुनिएको छ ।
थासाङको बोक्सी खोला माथि छिप्लुङ लेंक हुँदै धौलागिरि हिमालको फेंदबाट खसेको हिमपहिरोले बोक्सीखोलाको पानी बग्न रोकिएको छ । एक सातामै दुई पटक लगातार हिमपहिरो गएको र खोला थुनिएकाले तटिए क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको थासाङ गाउँपालिका—२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिनुभयो ।
अहिले घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको छ । यसअघि गत भदौ ७ गते समेत यसै क्षेत्रमा हिमपहिरो गएर बोक्सीखोला थुनिएको थियो । बोक्सीखोला कालीगण्डकी नदीमा मिसिएको छ । हिम पहिरोले खोला थुनिएपछि खोला आसपासका बस्तीमा सतर्कता अपनाइएको छ ।