बाढीले गलेश्वरमा विद्यालय र ज्येष्ठ नागरिक आश्रममा क्षति

  • ९ भाद्र २०८१, आईतवार
  • 989 पटक पढिएको

म्याग्दीमा गयराती परेको भारी बर्षाले बेनी नगरपालिका– ९ गलेश्वरधाममा रहेको संस्कृत विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवनलगायत भौतिक संरचनामा क्षति भएको छ । जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ ।


सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ ।
राति नै बाढी तर्काएका सशस्त्र प्रहरी, स्थानीयवासी बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउन जुटेका डीएसपी नेपालले बताए । बेनी नगरपालिका–८ कालीपुल बसपार्क र प्रवेशद्वार क्षेत्रमा पनि खोल्सामा आएको बाढीले क्षति भएको छ । बाढी र पहिराका कारण म्याग्दीका प्रमुख सडक अवरुद्ध भएका छन् ।