हिमपहिरो थुनिएको बोक्सी खोलाको सहायक खोलाको पानी बग्न थाल्यो

  • ७ भाद्र २०८१, शुक्रबार
  • 641 पटक पढिएको

म्याग्दी, ७ भदौ । मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङको शिरमा पर्ने धौलागिरी र मानापाथि हिमशृङ्खलाको बिचबाट खसेको हिमपहिरोले थुनिएको खोला बग्न थालेको छ । शुक्रवार दिउँसो करिब साढे १ बजे ठूलो आवाज सहित हिमपहिरो खसेपछि मुस्ताङको बोक्सी खोलाको सहायक खोला थुनिएको थियो ।
हिमालबाट खसेको हिमपहिरो बुकीको चौर र हिमालको फेदीबाट बग्ने खोलामा थुप्रिएपछि थुनिएको खोलाको पानी बग्न थालेको थासाङ गाउँपालिका– २ का वडा अध्यक्ष गौतम शेरचनले बताए । उनका अनुसार, बोक्सीखोलामा धौलागिरी र मानापाथि हिमशृङ्खलाका विभिन्न ३÷४ वटा मुहानबाट आउने पानी मिसिने गरेको छ । त्यसमध्ये एउटा मुहानबाट बग्ने पानी हिमपहिरोले पुरिएर करिब तीन घण्टासम्म पूर्ण रुपमा थुनिएको थियो ।
‘‘ साँझदेखि पानीले हिउँका डल्लाहरु बगाएर ल्याएको छ, हिउँपहिरोबाट खसेको हिउँले पुरिएर थुनिएको पानि विस्तारै हिउँलाई पगालेर बग्न थालेको छ, बोक्सीखोलामा पानीको सतह बढ्दै गएको छ’’–वडा अध्यक्ष शेरचनले भने । बोक्सीखोला कालीगण्डकी नदीमा मिसिएको छ । हिम पहिरोले खोला थुनिएपछि खोला आसपासका बस्तीमा सतर्कता अपनाइएको छ ।

हिउँ पहिरोले थुनिएको पानी एकै पटक बगेर आउँदा बाढी आउने जोखिम बढेपछि खोला आसपासका एक दर्जन घरका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । यस अघि वि.स. २०७८ कात्तिक २८ गते मानापाथि हिमचुचुरोबाट खसेको हिउँपहिरोले कोबाङ क्षेत्रमा त्रास सिर्जना गरेको थियो ।