लेकाली क्षेत्रका तालतलैया र शक्तिपिठमा भक्तजनको घुइँचो
- २ भाद्र २०८१, आईतवार
- कमल खत्री
- 1727 पटक पढिएको
म्याग्दी,२ भदौ । जनैपूर्णिमा पर्वको अवसरमा लेकाली क्षेत्रमा रहेका ताल तलैया र शक्तिपिठमा पूजापाठका लागि भक्तजनको चहलपहल बढेको छ । सोमबार परेको जनैपूर्णिमा पर्वको अवसरमा जिल्लाको माथिल्लो लेकाली क्षेत्रमा रहेका तालतलैया र शक्तिपिठहरुमा आजदेखि नै भक्तजनहरुको चहलपहल बढेको हो ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरभारानी, रघुगंगा गाउँपालिका–८ को रिखार, वडा नम्बर ७ को कालीबराह ताल लगायतका ठाउँमा जान भक्तजनहरु केहिदिन अघिबाटै यात्रामा निस्किएका छन् । हिमाली क्षेत्रमा रहेका बराह, बाराही र भारानी ताल र मन्दिरहरुमा पूजा आजा गरेर बर मागेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ।
समुद्री सतहदेखि ४ हजार ६ सय ३० मिटर उचाईमा अबस्थित खयरभारानी थानमा जनैपूर्णिमाको दिन पूजाआजाको लागि म्याग्दीका साथै छिमेकी जिल्लाहरुबाट समेत उल्लेख्य मात्रामा भक्तजनहरु आएको शिखका वडा अध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, मौसम अनुकुल भएपछि विगतका बर्षहरुको तुलनामा उल्लेख्य मात्रामा भक्तजन र तिर्थयात्रीहरु खयरतर्फ लागेका छन् ।
‘‘खयरलेक पुग्न कम्तीमा दुई दिनको पैदलयात्रा गर्नुपर्छ, कतिपय तिर्थयात्रीहरु चार दिन अगाडीबाटै खयरतर्फ लागेका छन्, हिड्न सक्ने युवाहरु आज पनि पाउद्धारबाट उकालो लागेका छन, भक्तजनहरुलाई अस्थायी आवासको व्यवस्थापन मिलाउन समेत कठिन भएको छ’’– वडा अध्यक्ष तिलिजाले भन्नुभयो ।
पाउद्धार हुदै खयरभारानी जाने तिर्थयात्रीहरु खोप्रामा पर्यटन सहकारी मार्फत सामुदायिक लजका साथै खयरभारानी क्षेत्र संरक्षण समितिले बनाएको अस्थायी टेन्टमा आश्रय लिएर बस्ने व्यवस्था मिलाईएको छ भने खयरखोलामा समेत अस्थायी रुपमा बसोबासको प्रवन्ध मिलाइएको छ । त्यसैगरि रघुगंगा गाउँपालिका–८ मा धौलागिरि हिमालको काखमा करिब ४ हजार ५ सय मिटर उचाईमा अवस्थित रिखारमा समेत उल्लेख्य मात्रामा भक्तजनहरु गएका छन् । रिखार जाने अन्तिम बस्ती पात्लेखर्कबाट एक दिनको पैदल यात्रामा पुग्न सकिने भएपनि भक्तजनहरु दुईदिन अघिबाटै रिखारतर्फ जान थालेको स्थानीय सप्तऋषि युवा क्लबका संरक्षक अंकित पुनले बताउनुभयो ।
पानीको तलाउनमा रहेको डुङ्गा आकारको ढुंगामा निर्मित मन्दिर रहेको रिखार भक्तजन र पर्यटकहरुको लागि अनौठो र आकर्षणको रुपमा रहेको छ । यहाँ जाने तिर्थयात्रीहरु धर्मशाला र भेडिगोठमा आश्रय लिने गर्छन । त्यसैगरि चिमखोलाको कालीबराह तालमा समेत जनैपूर्णिमामा विशेष पूजा हुने भएपछि भक्तजनहरु दुई दिन अघिबाटै त्यसतर्फ जान थालेका छन् । जनैपूर्णिमाको दिन खयरभारानी, रिखार, कालीबराह तालकासाथै नाङ्गीबराही, भगवतीको नौलीबराही र घराम्दीको प्यारी बराहीलगायतका थान र तलाउमा समेत भक्तजनहरुका घुँइचो लाग्ने गर्छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l