गलेश्वर शिवालयमा एक महिनामा रु १५ लाख बढी भेटी संकलन

  • २९ श्रावण २०८१, मंगलवार
  • 385 पटक पढिएको

म्याग्दी , २९ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा एक महिनाको अबधिमा रु १५ लाख बढी भेटी संकलन भएको छ । साउन महिनाको चार वटा सोमबारमा गलेश्वर शिवालमया दर्शन गर्न आएका भक्तजनहरुले चढाएको भेटी रकमबाट रु १५ लाख १० हजार ७२४ रकम जम्मा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।साउन महिनाको अन्तिम सोमबार मात्रै रु चार लाख ३५ हजार ९६७ भेटी रकम संकलन भएको थियो । त्यसैगरि पहिलो सोमबार तीन लाख ७२ हजार तीन सय ७१, दोस्रो सोमबार तीन लाख ३६ हजार एक सय ८५ र तेस्रो सोमबार तीन लाख ६६ हजार दुई सय भेटी सङ्कलन भएको कोषले जनाएको छ । मंगलवार विहान कोषका पदाधिकारी, सुरक्षा निकाय र स्थानीय सरोकारवालाहरुको रोहोवरमा मन्दिरमा संकलन भएको भेटी रकम गणना गरि बैँकमा जम्मा गरिएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।
यस बर्ष साउन महिनाको सोमबार मौसम अनुकुल भएकाले भक्तजनहरु उल्लेख्य मात्रामा आएका थिए । म्याग्दीका साथै, पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवन, भैरवा, बुटवललगायतका ठाउँबाट चार वटा सोमबारमा १ लाख बढी भक्तजनले गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गरेको कोषका सदस्य सचिब बलबहादुर खत्रीले जानकारी दिनुभयो ।

गलेश्वर शिवालयमा संकलन हुने भेटी रकमलाई सरोकारवालाहरुको रोहोवरमा गणना गरी कोषको बैँक खातामा जम्मा गरिने र आबश्यकता अनुसार धार्मिक संरचना र पूर्वाधार निर्माण तथा कोषको नियमित सञ्चालनको क्षेत्रमा उपयोग गरिँदै आएको उहाँको भनाई छ ।
कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलीएको एउटै चट्टान माथी अवस्थित गलेश्वरमा सतिदेवीको गला पतनभएको धार्मीक शास्त्रहरुमा उल्लेख छ । साउन महिनाको सोमबार, शिवरात्री र बालाचर्तुदर्शीमा बिशेष मेला लाग्ने गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ ।