गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा सभाहल निर्माण
- ४ श्रावण २०८१, शुक्रबार
- 381 पटक पढिएको
म्याग्दी , ४ साउन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा सभाहल निर्माण गरिएको छ । प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा संकलन भएको भेटी रकम र आश्रममा सहयोगदाताबाट संकलन भएको रकमबाट ज्येष्ठ नागरिक आश्रममा सभाहल भवन निर्माण गरिएको हो ।
ज्येष्ठ नागरिक आश्रम परिसरमा रहेको सामुदायिक स्वास्थ्य इकाईको भवनमा तला थप गरेर सुविधा सम्पन्न सभाहल निर्माण गरिएको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले बताउनुभयो । भवन निर्माणमा गलेश्वर शिवालय क्षेत्र विकास कोषबाट रु १५ लाख र आश्रमको कोषबाट रु ३ लाख ४९ हजार ६५० लगानी भएको अध्यक्ष पुनले बताउनुभयो ।
भवन निर्माणमा कुल रु १९ लाख ७४ हजार २७६ लागत अनुमान गरिएको भएपनि १८ लाख ४९ हजार ६५० मा निर्माण सम्पन्न भएको निर्माण समितिका कोषाध्यक्ष लक्ष्मण चालिसेले जानकारी दिनुभयो । सभाहलमा करिब १५० जना क्षमताको पूर्वाधार बनाइएको छ । ज्येष्ठ नागरिक आश्रममा अहिले ४८ जना बृद्धबृद्धाहरु बसोबास गर्दै आउनुभएको छ ।
नवनिर्मित सभाहल भवनको शुक्रवार बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र बहादुर केसी र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले उद्घाटन गर्नुभएको छ । भवनको उद्घाटन गर्दै वडा अध्यक्ष केसीले आश्रममा बसोबास गर्दै आउनुभएका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी आयोजना हुने कार्यक्रमहरु सञ्चालन गर्न सभाहलले सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले ज्येष्ठ नागरिक आश्रमको अभिभावकत्व प्रदान गर्दै आएको शिवालय क्षेत्र विकास कोषले मन्दिरमा संकलन हुने भेटी रकमबाट सभाहल बनाउन सहयोग गरेको जानकारी दिनुभयो । उहाँले सभाहल निर्माण भएपछि ज्येष्ठ नागरिकहरुलाई भजन कृर्तन लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु गर्न समेत सघाउ पुगेको बताउनुभयो ।
यसैबिच नवनिर्मित ज्येष्ठ नागरिक आश्रमको सभाहलमा गण्डकी प्रदेश समन्वय परिषद कतारले म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार मार्फत रु ५० हजार बराबरको सोफासेट, कुर्चि, पोडिएम लगायतका फर्निचरका सामाग्री हस्तान्तरण गरेको छ ।