म्याग्दीका करिब ७०० घरधुरीमा खानेपानीको सुविधा विस्तार
- १ श्रावण २०८१, मंगलवार
- 261 पटक पढिएको
म्याग्दी ,१ साउन । म्याग्दीका करिब सात सय घरधुरीमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक बर्ष २०८०/०८१ मा सञ्चालन गरेका खानेपानी योजनाहरुबाट ६९८ घरधुरीमा खानेपानीको मिटर जडान भएको हो ।
प्रदेश सरकारबाट प्राप्त ३४ वटा र संघीय सरकारबाट प्राप्त ८ वटा खानेपानी योजनाहरु सञ्चालन भएकोमा यस बर्ष खानेपानीका ट्यांकी निर्माण, पाइपलाईन विस्तार र मिटर जडानको काम भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिबशंकर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार, गत आर्थिक बर्षमा विभिन्न ७ वटा खानेपानी योजना सम्पन्न भएर २०९ घरधुरीमा खानेपानीको मिटर जडान गरिएको छ ।
घोडेपानी खानेपानी, तोरीपानीको खसपधेरा खानेपानी, डम्मरा खानेपानी, रणबाङ खानेपानी, तुसारेपानी खानेपानी, सिजलगाउँ चुनेपानी खानेपानी योजनाको निर्माण सम्पन्न भएर मिटर जडान गरी घरघरमा खानेपानीको सुविधा पु¥याइएको कार्यालयले जनाएको छ ।
कार्यालयले सञ्चालन गरेका खानेपानी योजनाहरुमा एक बर्षको अवधिमा २८ वटा इन्टेक, १६ वटा संकलन चेम्बर, ११ वटा बितरण चेम्बर, ४ वटा बिटिसी चेम्बर र २४ वटा पानी संकलन ट्यांकी निर्माण भएको छ । एक बर्षमा कुल २७ दशमलब ६७ किलोटिमर मुख्य पाइपलाइन र ४९ दशमलब ७१ किलोमिटर वितरण पाइपलाइन निर्माण भएको कार्यालयका सब इन्जिनियर धनेश शाहले जानकारी दिनुभयो ।