भाइले दाउरा प्रहार गर्दा दाइको हत्या, हत्यामा संलग्नलाई प्रहरीले लियो नियन्त्रणमा
- २८ असार २०८१, बिहीबार
- 215 पटक पढिएको
म्याग्दी २६ असार । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मलम्पारमा भाईले दाउरा प्रहार गर्दा दाइको हत्या भएको छ । मलम्पारको रुटबाङटोलमा गयराती करिब साढे ११ बजे स्थानीय सोमबहादुर छन्त्यालले दाउरा प्रहार गरेर ४१ बर्षिय धनबहादुर छन्त्यालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।दाइको हत्या गरेका सोमबहादुरलाई आज दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, दरबाङबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर हत्यामा संलग्नलाई नियन्त्रण लिएको र घटनाको आबश्यक अनुसंधान गरेको उहाँले जानकारी दिनुभयो ।
सोमबहादुर साइला र धनबहादुर माइला सहोदर दाजुभाइ हुन । घरायसी झगडामा भाइले दाउराले अनुहारमा प्रहार गर्दा धनबहादुरको घटनास्थलमै ज्यान गएको धवलागिरी गाउँपालिका– का वडा सदस्य भक्तबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार, दाइको हत्या गरेपछि भागदौड गरेर फरार भएका सोमबहादुरलाई स्थानीयले राती नै नियन्त्रणमा लिएर बाँधेर राखेका छन् । आज दिउँसो प्रहरी घटना स्थल पुगेपछि हत्यामा संलग्न सोमबहादुरलाई प्रहरीको जिम्मा लगाईएको हो । हत्यामा संलग्न सोमबहादुर मानसिक सन्तुलन ठिक नभएका व्यक्ति रहेको र घरायसी सामान्य झगडामा दाउरा प्रहार गर्दा घटना घट्न गएको स्थानीयबासीको भनाई छ । मृतक धनबहादुरका श्रीमती र दुई छोरीहरु रहेका छन् ।