अन्नपूर्ण गाउँपालिकाद्धारा सामुदायिक विद्यालयलाई कम्प्युटर र शैक्षिक सामाग्री वितरण

  • १५ असार २०८१, शुक्रबार
  • कमल खत्री
  • 159 पटक पढिएको

म्याग्दी , १४ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न प्रविधि र शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयको जगको रुपमा रहेका प्रारम्भिक बालविकास केन्द्रहरुको शिक्षण सिकाईलाई व्यवहारिक बनाउन र बालबालिकालाई खेलेर अध्ययन गर्ने अवसर प्रदान गर्न गाउँपालिकाले रु नौ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरेको हो ।


प्रारम्भिक बाल विकास केन्द्रहरुमा सिकाइ कुना निर्माणका लागि भाषिक, पूर्व गणितिय, विज्ञान तथा वातावरण, दृष्यकला र सिर्जनाशिलता, सामाजिक अध्ययन र अभिनय सिप संग सम्बन्धित विभिन्न १२६ प्रकारका शिक्षण सिकाई सामाग्री प्रदान गरीएको गाउँपालिकाका शिक्षा अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँपालिकाभित्र रहेका ३८ वटा प्रारम्भिक बालिविकास केन्द्रमध्ये यस बर्ष १८ वटा विद्यालयलाई शैक्षिक सामाग्री उपलब्ध गराईएको छ भने बाँकी सिकाई केन्द्रलाई आगामी बर्षमा शैक्षिक सामाग्री उपलब्ध गराउने तयारी गरिएको छ ।
गाउँपालिकाले हरेक बालविकास केन्द्रलाई रु ५० हजार बराबरको शैक्षिक सामाग्री उपलब्ध गराएको जनाएको छ । त्यसैगरि गाउँपालिकाले विभिन्न १५ वटा आधारभूत विद्यालयहरुलाई डेस्कटप कम्प्युटर वितरण गरेको छ । गाउँपालिकाले आधारभूत तहमा शिक्षण सिकाईमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सुदृढीकरण कार्यक्रम अन्तर्गत रु ६ लाख ५० हजार बजेटबाट उक्त कम्प्युटर खरिद गरेर उपलब्ध गराइएको शिक्षा अधिकृत कटुवालले बताउनुभयो ।


गत बर्ष रु ७५ प्रतिशत अनुदानमा १० वटा विद्यालयमा १/१ वटा कम्प्युटर उपलब्ध गराएको गाउँपालिकाले विद्यालयको पठनपाठनमा अनिवार्य भएको कम्प्युटर बिषयको पठनपाठनमा सहजताका लागि कम्प्युटर अभाब रहेका विद्यालयहरु छनौट गरेर यस बर्ष निःशूल्क रुपमा कम्प्युटर उपलब्ध गराएको जनाएको छ । गाउँपालिको सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको लागि निःशूल्क सेनेटरी प्याड र डिस्पोजल मेसिन समेत वितरण गरेको छ ।
चालु आर्थिक बर्षमा उक्त कार्यक्रमका लागि विनियोजन भएको रु ५ लाख ९४ हजार बजेटबाट गाउँपालिकाले विभिन्न १४ वटा सामुदायिक विद्यालयहलाई सेनेटरी प्याड र प्याडलाई नष्ट गर्ने मेसिन खदिर गरेर उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । त्यसैगरि बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत १० वटा माध्यमिक विद्यालयका लागि कुल १५ हजार बराबरको पोषण सचेतना, फेलेक्स वितरण गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष ओमप्रसाद फगामी, शिक्षा अधिकृत गणेश बहादुर कटुवाल लगायतले विद्यालयका प्रअ र शिक्षकहरुलाई उक्त सामाग्रीहरु वितरण गर्नुभएको थियो । सामाग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष पुनले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण संगै शैक्षिक गुणस्तर सुधार र शिक्षण सिकाइमा सूचना, प्रविधिको उपयोग बढाउन गाउँपालिकाले जोड दिएको बताउनुभयो ।
यसैबिच गाउँपालिकाले कोभिडबाट भएको सिकाई क्षति न्यूनिकरण अन्तर्गत सिकाइ आपुरण र दुत्र सिकाई योजना सम्बन्धी गाउँपालिकाका ३६ वटै सामुदयिक विद्यालयका प्रधान्ध्यापकहरुलाई अभिमुखीकरण गरि सबै विद्यालयको लागि रु १ लाख ५० हजार बराबरको सामाग्री वितरण गरिएको जनाएको छ ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l