जंगलमै बास बसेर धौलागिरि आइसफल पदमार्ग निर्माण (फोटो फिचर)

  • १४ असार २०८१, बिहीबार
  • कमल खत्री
  • 367 पटक पढिएको

सोलुखुम्बुका खड्क बस्नेत दुई महिनादेखि धौलागिरि हिमालको फेदी नजीकको जंगलमा बास बस्नुहुन्छ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको कछुवा ओढार क्षेत्रमा पदमार्ग बनाउन बस्नेत सहित करिब ३० जनाको टोली दुई महिनादेखि जंगलमै बास बस्दै आएका हुन् । म्याग्दी र मुस्ताङलाई पदमार्गले जोड्ने धौलागिरि आइसफल ट्रेकमा दुई बर्षदेखि पदमार्ग निर्माण भैरहेको छ ।
पर्यटन विभागसंग दुई वटा प्याकेजमा ठेक्का सम्झौता गरेको कल्पबृक्ष विल्डर्सले आइसफल पदमार्ग बनाउन थालेको हो । गत बर्षदेखि पदमार्ग बनाउने काम गरेको कम्पनीले प्रतिकुल मौसम र बाढी, पहिरोको कारण योजनालाई सम्पन्न गर्न दुई बर्ष लागेको जनाएको छ ।बस्तीदेखि टाढा र हिमालको नजिकका भू–भागमा पदमार्ग बनाउन मजदुर र व्यवस्थापकहरु वनजंगलमै त्रिपाल टाँगेर बास बस्ने गरेका छन् । हिमालको फेदी नजिकै बाटो बनाउनुपर्ने भएकाले जंगलमै बसेर काम गर्नुपरेको बस्नेतले बताउनुभयो ।


आर्थिक बर्ष २०७९÷०८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट सुरु भएको आइसफल पदमार्ग निर्माण योजना अन्तर्गत अहिले सिँढी चिनेर पदमार्ग बनाउने कामले गति पाएको छ । निर्माण कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले दुई वटा प्याकेजमा कुल रु १ करोड ५४ लाख बजेटबाट ठेक्का सम्झौता गरेको र अहिलेसम्म ८ किलोमिटर बढी पदमार्ग निर्माण भैसकेको जानकारी दिनुभयो ।
‘‘ यो बर्ष मात्रै तीन किलोमिटर बढी पदमार्ग बनाएका छौँ, असारभित्रमा योजनालाई सम्पन्न गर्ने गरि काम भैरहेको छ, अक्करे भीर बाहेक अन्य ठाउँको पदमार्ग बनाएर सक्ने हाम्रो लक्ष्य हो, विष्फोटक पदार्थको प्रयोग गर्नुपर्ने अवस्था बाहेकका अन्य सबै अप्ठेरो ठाउँमा सहज रुपमा आवत जावत गर्न सक्ने गरि काम गरिरहेका छौँ’’– उहाँले भन्नुभयो ।
यो बर्ष छिस, कछुवा ओढार हुँदै धौलागिरि भ्यू पोइन्ट हिल सम्मको नदि किनार र घना जंगलमा व्यवस्थित पदमार्ग बनाउने काम भैरहेको छ । पदमार्ग बनाउन सोलुखुम्बु, उदयपुर, पाल्पा, नुवाकोट, रसुवा लगायतका जिल्लाबाट मजदुरहरु यहाँ आइपुगेका छन् । दुई समूहमा बाँडीएर झाँडी फाँडेर पदमार्ग बनाउने गरेको फुर्वा तामाङले बताउनुभयो । जंगलमा बास बसेका मजदुरहरुले विहानेखि साँझसम्म नै पदमार्ग बनाउन खटिने गरेका छन् ।
झाडी फाँडने, ढुंगा फोर्ने, बोक्ने, सिँढी चिन्ने र खाना, खाजा बनाउन काम विभाजन गरेका मजदुरहरुले सामूहिक रुपमा बाटो बनाउने काम गरिरहेका छन् । जंगल, भीर पहाड र खोला किनारमा दुइ मिटर फराकिलो सिँढी चिनेको पदमार्ग निर्माण हुन थालेपछि पर्यटकहरुलाई धौलागिरि आइसफल आधार शिविर पुग्न सहज हुन थालेको छ । परम्परागत गोरटो बाटोमा सिँढी चिनेपछि पदमार्ग चिटिक्क भएको छ ।
उच्च हिमाली क्षेत्र भएकाले चिसो अत्यधिक हुने र हिमपात तथा बर्षाको प्रतिकुलताका बिच पदमार्ग बनाउने कामलाई तिब्रता दिएको कार्यक्षेत्रमा खटिएका निर्माण कम्पनीका प्रतिनिधि लाक्पा लामाले बताउनुभयो । पर्यटन विभागबाट कार्यान्वनय भएको यस पदमार्ग निर्माण योजना अन्तर्गत रघुगंगा गाउँपालिका ७ चिमखोलाको ससलधाराक्षेत्रबाट गत बर्षदेखि पदमार्ग निर्माण थालिएको थियो । यस पदमार्ग अन्तर्गत कोखेभिर र धौलागिरि भ्यू पोइन्ट हिलको अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी छ ।यस अघि चिमखोलाका स्थानीयले कोखे भिरमा पहाड काटेर पदमार्ग बनाउने प्रयास गरेपनि कडा चट्टानको कारण उक्त भिरमा अझै ५० मिटर बढी पहाड काट्न काट्न बाँकी रहेको छ । धौलागिरि भ्यू हिलको भिर र खोँचमा पदमार्ग बनाउन कठिनाई भएपछि पर्यटन विभागले पुल बनाउने गरि अध्ययन गरिरहेको जनाएको छ । गत बर्ष ससलधारादेखि पदमार्ग बनाउन सुरु गरेकोमा यस बर्ष कालीबराह दोभान अघिदेखि काम भैरहेको छ ।
चिमखोलादेखि घ्यासीखर्क हुँदै आधार शिविर जाने बाटोमा कोखेभिर र धौलागिरि भ्यू पोइन्ट हिलको भिर बाहेक अन्य सबै ठाउँमा सुविधाजनक पदमार्ग निर्माण हुन लागेको रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिनुभयो । ‘‘आइसफल पदमार्ग सहज बन्दै गएको छ, हामीले पदमार्ग संगै खोलाहरु पुल र ठाउँ–ठाउँमा आश्रयस्थल पनि बनाउनपर्छ भनेर पहल गरिरहेका छौँ, दुई ठाउँको भिरमा पदमार्ग छिचोलियो भने एक दिनमै सहजै आधार शिविर पुग्ने पूर्वाधार तयार हुन्छ’’– वडा अध्यक्ष पाइजाले भन्नुभयो । उहाँले पदमार्ग निर्माण संगै कालीबराह खोला र रघुगंगा नदि समेतमा झोलुङ्गे पुलहरु बनाउन आबश्यक रहेको बताउनुभयो ।
म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने गरि वि.स.२०६८ सालमा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको धौलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रघुगंगा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । धौलागिरि हिमालको आधारशिविरलाई समेटिएको १ सय ८२ किलोमिटर लामो आइसफल पदमार्ग डिपिआर) तयार गरि संघीय र प्रदेश सरकार माफृत पूर्वाधार बनाउन पहल थालिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।
अहिले चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिएपनि आधार शिविर देखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नती गर्नुपर्ने काम बाँकी रहेको छ । नेपाल सरकारले धौलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेकोे एक दशक पुगिसकेको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा समेत रुईसे डाँडादेखि धवलागिरि आइसफल सम्मको पदमार्गलाई छनौट गरेको थियो । तर पूर्वाधार र आबश्यक व्यवस्थापकीय अभाबले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन ।
म्याग्दी सदरमुकाम बेनीदेखि हिमाल पारिको जिल्ला मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तार संगै विस्थापित भएपछि नयाँ बैकल्पिक पदमार्गको रुपमा धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । कुमारी पदमार्गको रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम भैरहेपनि सूचनामुलक संकेतबोर्ड राख्ने, खानेपानी, आश्रयस्थल र पर्यटकको सुविधाका लागि होटल तथा लजहरु निर्माण हुन सकेका छैनन् ।
धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमालहरुलाई नजीकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा लगायतका जंगली पशुपंक्षी र तीनको बासस्थानलाई समेत प्रत्येक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) संगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् ।
पाँच दिनदेखि दुई सातासम्मको लामो र छोटो दुरीमा पदयात्रा गर्न सकिने बिकल्प सहित पहिचान भएको यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले, दोबा, भुरुङ, दाना लगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l