‘बेनीको बजार, जता माया उतै छ नजर’को म्युजिक भिडियो नयाँ स्वरुपमा पुननिर्माण
- १० असार २०८१, आईतवार
- 2973 पटक पढिएको
म्याग्दी ,९ असार । बुहचर्चित नेपाली लोक गीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्यूजिक भिडियोलाई नयाँ प्रस्तुतीका साथ पुननिर्माण गर्न सुरु गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतलाई पुन नयाँ रेडर्क गरेर म्युजिक भिडियो तयार गर्न लागिएको हो ।
युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै कला, संस्कृतिको संरक्षण र संवद्र्धनमा समेत सक्रिय म्याग्दी जेसीजले गीतका सर्जकको परिवारबाट अनुमति लिएर गीतलाई नयाँ प्रस्तुतीका साथ बजारमा ल्याउन लागेको हो । गीतको पुर्नताजकी गर्न र श्रष्टालाई सम्मान गर्न पुरानो वास्तविक गीतसंगै नयाँ शब्द संकलन समेत गरेर बेनीको बजार गीतलाई पुर्ननिर्माण गर्न लागिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो ।
पुर्ननिर्माण गर्न लागिएको गीतमा चर्चित गायक रामचन्द्र काफ्ले र गायिका समिक्षा अधिकारीले स्वर भर्नुभएको छ । म्युजिक भिडियो कार्यक्रम संयोजक डि के पुन को निर्देशन र म्याग्दी जेसिजका उपाध्यक्ष गोकुल सुनारको सह-निर्देशनमा तयार गर्न लागिएको छ । गीत रेकर्डको काम सकेर अहिले म्युजिक भिडियो छायांकनको काम भैरहेको निर्देशक डिके पुनले बताउनुभयो । म्याग्दी सदरमुकाम बेनी बजार, गलेश्वरधाम र लभ्लिहिल क्षेत्रमा छायांकन गरिएको म्युजिक भिडियोमा म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट सुरुवात भएर पछिल्लो समय लोकप्रिय बनेको थालीनाचलाई समेत समावेश गरिएको छ ।
चर्चित मोडल गम्भिर विष्ट र अञ्जली अधिकारीले अभिनय गर्नुभएको म्युजिक भिडियोमा म्याग्दीका करिब ४५ जना बढी कलाकारहरुले समेत नृत्य र अभिनय गरेका छन् । म्याग्दीका टिकाबहादुर श्रेष्ठले रचना गर्नुभएको यस गीतमा सर्जक श्रेष्ठ र उहाँकी श्रीमती मन छन्त्यालले पहिलो पटक बेनीको बजार गीत गाउनुभएको थियो । २०३१ सालमा रेडियो नेपालमा मन छन्त्यालको स्वरमा रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको यो गीतलाई पछि राजु परियार र बिमा कुमारी दुराको स्वरमा समेत रेकर्ड गरेर बजारमा ल्याइएको थियो ।
विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौंको राष्ट्रिय नाचघरमा पहिलो पटक रचनाकार श्रेष्ठ दम्पतीले ‘बेनीको बजार,जता मायाँ उतै छ नजर‘’ बोलको गीत गाएका थिए । सो कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको बेनीको बजार बोलको गीत नै प्रथम भएको थियो । गीतका सर्जक श्रेष्ठको निधन भएकाले उहाँकी धर्मपत्नीको मञ्जुरीमा गीत र म्युजिक भिडियोलाई पुननिर्माण गर्न लागिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।
म्याग्दी जेसीजले म्याग्दीकै लोकप्रिय गायक खड्क गर्वुजाको पानी खायो बाघैले बोलको सालैजो गीतको समेत नयाँ म्युजिक भिडियो तयार गर्न लागेको छ । दुबै गीत र म्युजिक भिडियो पुननिर्माणमा करिब ८ लाख खर्च हुने म्याग्दी जेसीजले जनाएको छ । सालैजो गीतको बेनी नगरपालिका–१ अर्जममा छायांकन गरिएको छ ।
शेखर पुन र मिलन थापा मगरले अभिनय गर्नुभएको उक्त म्युजिक भिडियोको छायांकन सन्तोष पिठाकोटे मगरले गर्नुभएको छ । म्याग्दीका कलाकारले सिर्जना गरेका गीत संगीतलाई नयाँ पुस्तालाई समेत जोड्ने गरि पुन रेकर्ड गरेर नयाँ म्युजिक भिडियो बनाउँदा यसले म्याग्दीलाई चिनाउन र सर्जकको सम्मानमा समेत सघाउ पुग्ने म्याग्दी जेसीजका पुर्व अध्यक्ष समेत रहनुभएका म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविनकुमार श्रेष्ठले बताउनुभयो । म्युजिक भिडियोको छायांकन कार्यको बेनी नगरपालिकाका मेयर ससुरत केसीले शुभमुर्हत गर्नुभएको थियो ।