म्याग्दीका पर्यटकीय स्थल जोड्न नौ किलोमिटर पदमार्ग निर्माण
- ८ असार २०८१, शुक्रबार
- कमल खत्री
- 269 पटक पढिएको
म्याग्दी , ७ असार । म्याग्दीका पर्यटकीय स्थलहरु पुग्न नौ किलोमिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक बर्ष २०८०/०८१ मा जिल्लामा विभिन्न १८ वटा पर्यटन पूर्वाधार योजनामा प्राप्त रु १ करोड ५६ लाख बजेटबाट पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्लाका विभिन्न चर्चित, ऐतिहासिक र धार्मिक पर्यटकीय स्थलहरुमा पर्यटन पूर्वाधार निर्माण योजनामा प्राप्त बजेटबाट ७ किलोमिटर ४८ मिटर नयाँ ट्याक बनाउने, ढुंगाको सिँढी चिनेर पदमार्ग बनाउने काम भएको पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीका प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, १ किलोमिटर ७२ मिटर पदमार्गमा ढुंगा छापेर पदमार्ग बनाइएको छ भने १ किलोमिटर ८२ मिटर पदमार्गलाई ढलान गरेर निर्माण गरिएको छ ।
पदमार्गसंगै धार्मिक पर्यटकीय स्थलहरुमा घेरावार, संरक्षण, प्रवेशद्धार, रेलिङ, भ्यू पोइन्ट, वनभोज स्थल लगायतका पूर्वाधार निर्माण भएको कार्यालयका सब–इन्जिनियर सुमन बोगटीले जानकारी दिनुभयो । ‘‘यस बर्ष जिल्लामा पर्यटन पूर्वाधार योजनामा प्राप्त सबै योजना सम्पन्न भएका छन्, कार्यालयको तर्फबाट अन्तिम अनुगमन र नापजाँच भएर अहिले धमाधम योजनाको भुक्तानि दिने काम भैरहेको छ, पर्यटन पूर्वाधार बनेपछि पर्यटक प्रवद्र्धनमा सघाउनुको साथै स्थानीयबासीलाई सुविधा पुगेको छ’’– उहाँले भन्नुभयो ।
यस बर्ष सबैभन्दा धेरै रु २० लाख बजेट विनियोजन भएको अन्नपूर्ण गाउँपालिका–५ को खोप्रालेकमा पदमार्ग, भ्यू पोइन्ट निर्माण संगै खानेपानीको पूर्वाधार निर्माण गरिएको छ । जिल्लाकै ऐतिहासिक धार्मिक स्थलहरु ताकमकोट, ज्यामरुकोट, चिनाकोटमा रु १०÷१० लाख बजेटबाट पदमार्ग, रेलिङ लगायतका पर्यटन पूर्वाधार निर्माण भएका छन् । बेनी नगरपालिका–९ स्थित ढोलथानमा रु १० लाख बजेटबाट पदमार्ग, प्रवेशद्धार वनभोज स्थल र रेलिङ निर्माण भएको कार्यालयले जनाएको छ ।
महभिरदेखि करबाकेलीथान जाने बाटो, पनथोकदेखि मालिका जोड्ने बाटो, गलेश्वर–काउलेगौडा–नेप्टेचौर ढोलठान जाने बाटो, दर्मिजा–नांगीदेवि थान बाटो, लामाखोरिया–डाँडागाउँ जोड्ने बाटोमा रु १०/१० लाख बजेटबाट पदमार्ग निर्माण र विस्तार गरिएको छ । त्यसैगरि बेनी स्थित डल्लेपिपल–फोहोटे रिठाबोट र रघुगंगा गाउँपालिका– २ भगवतीको अन्नपूर्ण आधारभूत विद्यालयदेखि हवल्दारको चौतारासम्म रु ८/८ लाख बजेटबाट सिँढी चिनेको पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिका– १ रत्नेचौरमा रहेको परम बैदिक धार्मिक सनातन आश्रम, सारेमारे–भूवाने, भालश्री छापाछाङ औसी– खालिखोला, बलौटे–दुखुबेशी, कालीबराह ताल, शिलखुङ– चाङ्गा जोड्ने बाटोमा रु ५÷५ लाख बजेटबाट पदमार्ग निर्माण तथा संरक्षणको काम गरिएको पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीले जनाएको छ । रासस
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l