बेनी-पाखापानी सडक स्तरोन्नति सुरु
- ३ असार २०८१, आईतवार
- 323 पटक पढिएको
म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-पाखापानी सडक स्तरोन्नति सुरु भएको छ । बेनी नगरपालिका-९ किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र थालिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालयले चार किलोमिटर लामो यो सडक स्तरोन्नति सुरु गरेको हो । चालु आर्थिक वर्षमा रु चार करोड बजेट विनियोजन भएको यो सडकका लागि रु २० करोडको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान भएको थियो । हाल सडक फराकिलो बनाउने र पर्खाल निर्माण गर्ने भइरहेको छ ।
बेनी–पाखापानी सडकको तोरीपानी–पात्लेखेत–झैँ–पाखापानी खण्डको स्तरोन्नति गर्न अर्को चरणको आयोजनाका लागि बजेट व्यवस्थापनको प्रयास जारी रहेको प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए । प्रदेश सरकारमार्फत म्याग्दीमा चालु आवमा सातवटा सडक र दुईवटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउन रु एक अर्ब २० करोड बजेट स्रोत सुनिश्चितता भएको छ । स्रोत सुनिश्चितता भएका आठवटा आयोजना ठेक्का प्रक्रिया अघि प्रारम्भ भएको अर्का प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए ।