अर्जममा भाषणकला तथा उदघोषण तालिम सुरु
- ३० जेष्ठ २०८१, बुधबार
- 428 पटक पढिएको
म्याग्दी, ३० जेठ । म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा क्षमता विकासका लागि भाषणकला तथा उदघोषण तालिम सुरु भएको छ । बेनी नगरपालिका– १ को वडा कार्यालयको सहयोगमा वडा स्तरीय आमा समूह सञ्जालको आयोजनामा दुई दिने तालिम सुरु भएको हो । तालिममा अर्जमका ३९ जनाको सहभागीता रहेको छ । तालिमको उद्घाटन गर्दै वडा सदस्य ताराप्रसाद थापा मगरले सार्वजनिक कार्यक्रम सञ्चालन गर्न र विभिन्न भेला, बैठक र कार्यक्रमहरु आयोजना तथा सक्रिय सहभागी हुन तालिमले सहयोग पुग्ने बताउनुभयो । उहाँले महिलाहरुको क्षमता विकास गरि सक्षम बनाउन र समाजका हरेक गतिविधिमा अग्रसर बनाउन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आमा समूह सञ्जालका अध्यक्ष गौरी थापा मगरको अध्यक्षता, कोषाध्यक्ष जनतादेवी क्षेत्रीको स्वागत र सचिब टिका घिमिरे थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य निर्मला सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो । तालिममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सन्दिप खत्री र म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्रीले सहजीकरण गर्नुभएको छ । वडा स्तरीय आमा समूह सञ्जालमा वडा नम्बर १ का विभिन्न ११ वटा आमा समूह आबद्ध छन् । सञ्जालले वडा कार्यालयको सहयोगमा धुप बनाउने तालिम र कृषकहरुलाई अचार बनाउने तालिम समेत सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष थापा मगरले जानकारी दिनुभयो ।