खबराको गाउँभरी केराखेती : ‘केरा विक्री गरेर बार्षिक तीन करोड गाउँ भित्रियो’
- २५ जेष्ठ २०८१, शुक्रबार
- कमल खत्री
- 741 पटक पढिएको
म्याग्दी, २५ जेठ ।
बेनी नगरपालिका–२ खवराका तेजेन्द्र कार्कीले धान रोप्ने खेतमा केराखेती विस्तार गर्नुभएको छ । विगत ६ बर्षदेखि व्यावसायिक केरा खेती सुरु गर्नुभएका कार्कीले करिब २० रोपनी खेतवारीमा केरा खेती गर्दै आउनुभएको छ । यो बर्ष बगरफाँटमा रहेको खेतमा समेत केरा खेती विस्तार गर्ने उहाँको तयारी छ । खेती गर्न सजिलो , लगानी धेरै नहुने र उत्पादन भएको केराको सहज बजारीकरणको कारण परम्परागत अन्नबालीको खेती छाडेर नगदे बालीको रुपमा केरा खेती विस्तार गरेको कार्कीले बताउनुभयो ।
कार्कीले अहिले बार्षिक ६ लाख बढी केरा खेतीबाट आम्दानी गर्दै आउनुभएको छ । कार्की जस्तै स्थानीय चन्द्रबहादुर घिमिरेले पनि १० रोपनी खेतवारीमा केरा खेती गर्नुभएको छ । धान खेती गर्दा धेरै खेताला चाहिने र लगानी अनुसारको उत्पादन नहुने भएपछि केरा खेतीमा लागेको घिमिरेले बताउनुभयो । ‘‘ केरा लगाएको दुई बर्षमा फल दिन सुरु हुन्छ, एउटा बोट लगाएपछि आफै घारीको रुपमा विस्तार हुन्छ, यो बर्ष थप तीन रोपनी खेतमा केरा लगाउन सुरु गरेको छु, अहिले मासिक रुपमा १५ देखि २० हजार केरा बिक्री गरेर कमाई हुन्छ’’– उहाँले भन्नुभयो ।
खबरा क्षेत्रमा चन्द्रबहादुर कार्की, सोवित शर्मा, प्रेमबहादुर कुँवर, राजीप घिमिरे, डोलेन्द्र सापकोटा, गणेश जिसी, रामकृष्ण खड्का, ध्रुव सापकोटा, मानबहादुर थापा प्रत्येकले १० रोपनी बढीमा केरा खेती गर्दै आउनुभएको छ । बेनी नगरपालिका–२ को सानो खबरा, ठूलो खबरा, अम्बोट, रोटेपानी, बगरफाँट लगायतका बस्ती केरा खेतीको लागि पकेट क्षेत्र मानिन्छ । यो क्षेत्रका करिब २५० जना कृषकहरुले ६ सय ५० रोपनी बढी क्षेत्रफलमा व्यावसायिक रुपमा केरा खेती गर्दै आएको खबरा केरा पकेट विस्तार कार्यक्रमका संयोजक समेत रहनुभएका अगुवा कृषक सोवित शर्माले जानकारी दिनुभयो ।
सिंगो गाउँ नै केरा खेतीमा लागेपछि यहाँका स्थानीयको आर्थिक जीवनस्तरमा समेत सुधार भएको छ । गत बर्षमा केरा बिक्री गरेर गाउँमा रु तीन करोड भित्रिएको संयोजक शर्माले बताउनुभयो । ‘‘ गाउँमा केरा खेतीको लहर चलेको छ, उपयुक्त उर्भर भूमि भएकाले पनि केरा खेतीमा लागेकाहरु उत्साहित बनेका छन्,उत्पादन भएको केरा खरिद गर्न बेनी र बागलुङ बजारबाट व्यापारीहरु गाउँमा आइपुग्छन्’’– शर्माले भन्नुभयो । यस क्षेत्रमा चिनीचम्पा, हजारिया, धुर्से, मुरेलगायतका प्रजातिका केरा हुने गरेको छ । खबरा क्षेत्रमा परम्परागत रुमपा घरायसी प्रयोजनका लागि केरा खेती हुँदै आएकोमा एक दशक अघिबाट केराको व्यावसायिक खेती सुरु भएको थियो । गाउँका अधिकाँश कृषकहरुले धान गहुँ, मकै लगायतका परम्परागत खाद्य बाली लगाउन कम गरिसकेका छन् । खेतीयोग्य जमिन अधिकाँशमा केरा खेती विस्तारको अभियान चलेको छ । केरामा अत्यधिक सम्भावना देखिएपछि बेनी नगरपालिकाले यस क्षेत्रलाई केरा पकेट विकास कार्यक्रम सञ्चालन गरेर केराको व्यावसायिकता र क्षेत्र विस्तारमा सहयोग गर्दै आएको छ । गत बर्षदेखि सूरु भएको केरा पकेट कार्यक्रम अन्तर्गत नगरपालिकाले क्षेत्र विस्तार, थोपा सिंचाई , तालिम, औजार उपकरण, मल, विरुवालगायतमा अनुदान सहयोग गर्न थालेको छ । गत बर्ष नगरपालिकाको रु ११ लाख र कृषकको रु ११ लाख साझेदारीमा १ सय रोपनी बढीमा केराखेतीको क्षेत्र विस्तार संगै मल, विरुवा र औजार उपकरणमा सहयोग गरिएको बेनी नगरपालिकाका कृषि शाखा प्रमुख आकृति ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार, चालु आर्थिक बर्षमा समेत नगरपालिकाले रु ६ लाख र समुदायको ६ लाख साझेदारीमा केराका विरुवा वितरण संगै थोपा सिंचाई विस्तार र केराको बहुआयामिक उपयोगीताको सन्दर्भमा तालिम सञ्चालन गरिएको छ । गत बर्ष ६ हजार २ सय बोट केरा विस्तार गरिएकोमा चालु आर्थिक बर्षमा थप तीन हजार पाँच विरुवा लगाएर खेती विस्तार गर्ने तयारी छ । केराको व्यावसायिक खेती गर्दै आएका यहाँका कृषकहरुले केराको फल र बोट दुबैबाट आयआर्जन गर्न थालिसकेका छन् । केराको थामबाट रेसा निकालेर फाइबर, धागो , कपडा र सेनेटरी प्याड बनाउने र खेर गएको थामको थुलोबाट भर्मि कम्पोष्ट मल बनाउने तालिम लिएपछि केरा खेतीमा लागेका कृषकहरुले केराको बोट र फल दुबैबाट आयआर्जन गर्न थालेका हुन् । गर्मियाममा केराको बजार अभाब नहुने भएपनि चिसो मौसममा बजार अभाब हुने भएकाले स्थानीयले केराबाट पाउडर, चिप्स विस्कुट बनाउने प्रविधिको खोजी गर्न थालेका छन् । रासस
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l